
डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।
घाइते हुनेमा अमरगढी नगरपालिका–१ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउँपालिका–२ की चित्रा मल्ल, गन्यापधुरा–३ का बाटु भूल र नवदुर्गा गाउँपालिका–३ की शारदा पन्त उप्रेती रहेका छन्।

यस्तै, गन्यापधुरा–२ का पशुपति मल्ल, जनक मल्ल र जिप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन्। दुर्घटनामा घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, वडा नम्बर २ का पशुपति मल्ल र जीप चालक यदुनाथ उप्रेतीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा ८ जना घाइते भएकोमा ३ जनालाई भने रेफर गरिएको छ। प्रहरीका अनुसार जीप दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ४० वर्षीया शारदा पन्त (उप्रेती), गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३६ वर्षीया चित्रा मल्ल र ४२ वर्षीय जनक मल्ललाई रेफर गरिएको हो।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि चित्रलाई धनगढी र अन्य दुई जनालाई भारत रेफर गरिएको बताइएको छ।
उनका अनुसार जिप सडकबाट तीन/चार सय मिटर तल खसेको छ। जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले बताए। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।














