
नेपाल टी–२० लिगमा स्पट फिक्सिङ र बेटिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार तीन नेपाली खेलाडीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक वर्तमान राष्ट्रिय टोलीका सदस्य मोहम्मद आदिल अन्सारी छन् भने अलराउन्डर पूर्वखेलाडी मेहबुब आलम पनि पक्राउ परेका छन्। अन्सारीलाई राजविराज र आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ। पक्राउ परेका अर्का एक खेलाडीको नाम भने खुलाइएको छैन।

नेपाल टी–२० लिगमा अन्सारीले जनकपुर रोयल्सबाट खेलेका थिए। सिआइबीका अनुसार आलमले सेभेन थ्री स्पोर्ट्सका मालिक जतिनलाई नेपालका अन्य खेलाडीसँग सम्पर्क गराइदिने काम गरेको बताइएको छ। अन्सारीको पनि जतिनसँग प्रत्यक्ष सम्पर्क रहेको बताइएको छ। एक खेलाडीको कमर्सियल पार्टनरका रूपमा रहेका कम्पनीका मलिकसँगको प्रत्यक्ष सम्पर्कले अन्सारीलाई शंकाको घेरामा तानेको थियो।
पुस १९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका खेलाडीले पारिश्रमिक नपाएको भन्दै निर्धारित समयमा मैदान उत्रन अस्वीकार गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको प्रतिबद्धतापछि मात्र उनीहरू मैदान उत्रन तयार भएका थिए। खेलाडीको विरोध चलिरहँदा मैदानबाहिर भने नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको खबर सार्वजनिक भएको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। सिआइबीले यसबारे अनुसन्धान गर्न डिएसपी सुन्दर तिवारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो कमिटीले क्यानका पदाधिकारी र दर्जनभन्दा बढी खेलाडीसँग बयान लिएको थियो। त्यस्तै चार जना विदेशी खेलाडीसँग पनि बयान लिएको थियो। खेलमिलेमतो प्रमाणित भएमा उनीहरूलाई तीन वर्षको कैद र ५० हजार जरिवाना हुन सक्छ।































