आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी

Image
फाइल फोटो
maya metro

काठमाडौं – कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।

nisarga

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्डले अन्तिम खेलमा हार खेपेको हो । लिगका सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्क जोड्दै शीर्षस्थानमा छ ।

लिगको च्याम्पियन स्कटल्यान्डलाई आइसिसीले मंगलबारनै च्याम्पियन ट्रफी प्रदान गरेको छ । २८ खेलमा २६ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ । ३४ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ ।

नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।