
अत्तरिया – कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम भएका छन् । बोहराले प्रतिायोगितामा गायक महेस औजीको स्वरमा रहेको कलेजी कटाउने माया भन्ने भाका प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रथम भएसंगै उनले नगद पन्ध्र हजार रुपैँया तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै बझाङका कुलेन्द्र परियारले द्धितिय स्थान हाँसिल गरेका छन् । परियारले दश हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । परियारले गायक भोजराज भट्टको स्वरमा रहेको हरबे हरहर… बोलको भाका प्रस्तुत गरेका थिए । त्यसैगरी प्रतियोगितामा बाजुराकी मनिषा बिकले तेस्रो स्थान हाँसिल गर्दै सात हजार रुपैँया नगद प्राप्त गरेकी छिन । उनले प्रतियोगितामा ठाडी भाका प्रस्तुत गरेकी थिईन् । त्यस्तै कञ्चनपुरकी हेमन्तु रानाले चौथो स्थान हँसिल गरेकी छिन् ।


सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय “सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१” अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा आज सम्पन्न भएकोे हो । कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्ला बाट एक÷एक जना प्रतिष्पर्धीले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको निर्णायकको भुमिकामा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी(अछामी बड्डो),सुरत रावत (डोटेलि कान्छा) रहेका थिए । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीले लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमलेहरुले सुदूरपश्चिमका मौलिक भाकाहरुलाई जर्गेना गर्ने बताए । प्रतियोगितामा साइकलयात्री भरतबिक्रम शाह लगाएत चार जनालाई सम्मान पनि गरिएको थियो ।





























