
अत्तरिया – पछिल्लो समय युट्युब लगायत विभिन्न सामाजिक सञ्जालले मानीसको समय बर्बाद गर्यो भन्नेको जमात ठुलो छ । तर यी सञ्जालहरुको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन पनि सकिन्छ भनेर बुझ्नेको सङ्ख्या न्युन छ । सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि छन् ।
त्यसका एक उदाहरण हुन् कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ जुडाका भक्त बहादुर महरा । भक्तले युट्युबमै हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी गर्दै आएका छन् । करिब २० वर्षदेखी काठका झ्याल,ढोका,पलङजस्ता सामग्रीमात्रै बनाउँदै आएका उनी १ वर्ष यता काठका अम्खोरा,प्याला,धुपदानी,चिया गिलास,कचौरा,बिँड लगायतका सामग्री बनाएर विभिन्न ठाँउहरुमा पठाउँदै आएका छन् । भक्तले धेरै पढ्न पाएनन् । द्धन्द्धकालको समयमा कक्षा ८ सम्म मात्रै पढेर पढाईलाई बिट मार्नुपर्यो ।

‘द्धन्द्धकालको समय थियो,धेरै पढ्न पाईएन भएको पढाई पनि छोडेपछी काम त गर्नुपरिहाल्यो,उनले भने अनी गाउँकै एकजना दाईसंग हिँड्दाहिँड्दै झ्याल,ढोका बनाउन सिके ।’ करिब दुई दशकदेखी काठको काम गर्दै आएका भक्तले १ वर्षदेखी अम्खोरा,प्याला,धुपदानी,चिया गिलास,कचौरा,बिँडलगायत १० प्रकारका सामग्रीहरु पनि बनाउँदै आएका छन् । यो सिप उनले युट्युबबाट सिकेका हुन् । घुमघामकाक्रममा भारतको हरिद्धार पुगेका भक्तले त्यहाँ बिक्रिमा राखिएका काठका यस्ता सामग्रीहरु देखे । उनलाई मनपर्यो ।

घर पुगेर आफुले पनी बनाउने सोच गरे । बिक्रि पनि हुन्छ होला जस्तो लाग्यो । घर फर्किसकेपछी युट्युबमा हेरेर सामग्रीहरु बनाउन सुरु गरे । सुरुवातमा उनले चौका र बेलन बनाए । तर मेसिन अभाव भयो । युट्युबकै सहायताबाट मेसिन पनि आफैले तयार गरे । अहिले भक्तले सोहि मेसिनबाट भाँडाकुँडा तयार पार्दै आएका छन् । यो बिचमा उनले सिटीइभिटीबाट तालिम पनि लिए । त्यसले पनि थप सहयोग गर्यो । अहिले भक्तलाई काठका सामग्रीहरु बनाउन भ्याई नभ्याई छ । आफुले बनाएका सामाग्रीहरु लगेर उनी विभिन्न मेला महोत्सवसम्म पनि पुग्ने गर्छन् ।
गत असोज २२ गते कैलालीको अत्तरियामा लाग्ने भनिएको प्रर्दशनी बजारमा पनि उनी पुगेका थिए । घरको सबै काम भ्याएर अनुकुल समय अनुसार काम गर्दा पनि मासिक ४० हजार जती आम्दानी हुने गरेको उनी बताउँछन् । आफ्नो ६ जनाको परिवारको खर्च उनले यसै व्यवसायबाट धान्दै आएका छन् । हातमा सिप हुनेलाई नेपालमै काम र दाम पर्याप्त रहेको उनी बताउँछन् ।काठका भाँडाकुँडाको माग उच्च भएको तर कच्चा पर्दाथ अभावका कारण पुर्ति गर्न नसकिएको उनले बताए ।
‘भनेको समयमा काठ पाइदैन । पाइहालेपनि झन्झटिलो प्रक्रिया,अर्डर आएको महिनौँपछी सामान तयार हुने अवस्था आउँछ त्यसैले अब सालको काठ छोडेर बाँसको काठ प्रयोग गर्ने योजनामा छु,’भक्तले भने । उद्योग दर्ताको प्रक्रियामा रहेको बताउँदै उनले आफ्नो उद्योगलाई तालिम केन्द्रकै रुपमा अघि सार्ने योजना बनाएका छन् । यस्ता प्रकारका सिपहरु विद्यालयकै पाठ्यक्रममा समावेश गरिनुपर्ने उनी बताउँछन् ।















