अत्तरिया चौराहमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण सुरु

Image
maya metro

अत्तरिया – अत्तरिया चौराह–धनगढी ६ लेन सडक खण्डमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण सुरु गरिएको छ । शनिबार वैदिक विधिअनुसार गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पुलको शिलान्यास गरेका हुन् ।

गोदावरी नगरपालिकाका मेयर भट्टले बढ्दो ट्राफिक जाम तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आकाशे पुल निर्माण गर्न लागिएको बताए । उनले अत्तरिया बजारको तीव्र शहरीकरणसँगै पैदल यात्रुको चाप बढेकाले सुरक्षित आवतजावतका लागि पुल आवश्यक भएको उल्लेख गरे ।

nisarga

१ करोड ४२ लाख ८५ हजार ४ सय ९८ रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको ठेक्का क्रेजल त्रिनेत्र सिद्धनाथ जेभीले पाएको छ । निर्माण कम्पनीले काम सुरु गरिसकेको जनाएको छ ।

ईन्जिनियर मोहित चन्दका अनुसार पुल ५ दशमलव ६ मिटर अग्लो तथा ४५ मिटर लामो हुनेछ । निर्माण कार्य २०८३ पुस ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गोदावरी नगरपालिकासँग २०८२ फागुन १० गते नै निर्माण सम्झौता भए पनि सडक विभागबाट ढिलो अनुमति प्राप्त हुँदा काम सुरु हुन केही समय लागेको जनाइएको छ । विभागले गत वैशाख १४ गते निर्माण अनुमति दिएपछि काम अघि बढाइएको हो ।

स्थानीयवासीले आकाशे पुल निर्माणपछि अत्तरिया बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापन र पैदल यात्रुको सुरक्षामा सुधार आउने अपेक्षा गरेका छन् ।