
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित मजगाउँको समैजी माविको प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक गरिएको छ । विद्यालयले परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक गरेको हो ।
विद्यालयकी प्रधानाध्यापक विन्दु बलायरले अभिभावकको उपस्थितिमा नतिजा सार्वजनिक गर्दा अभिभावकलाई पनि जिम्मेवार बनाउने भएकोले अभिभावकको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको बताइन् ।

सरकारी विद्यालयका अधिकांश अभिभावकले बालबालिकाले पढाई चासो राख्ने नगरेको पाइने भएकोले विद्यालयमै बोलाएर प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको बलायरले बताइन् । नमात्तिएर, नआत्तिएर आगामी दिनमा अझै मिहिनेत गर्न उनले विद्यार्थीहरूलाई आग्रह गरिन् ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता चौधरीले अभिभावकको उपस्थितिमा नतिजा सार्वजनिक गर्दा अभिभावकहरू विद्यालय र आफ्ना बालबालिकाप्रति उत्तरदायी बनाउने उदेश्यले अभिभावकहरुलाई बोलाएर नतिजा प्रकाशित गरिएको बताइन् ।
नतिजा प्रकाशनको औपचारिक कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा सदस्य हरिराम चौधरीले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट मात्रै विद्यालयले राम्रो नतिजा हासिल गर्न सक्ने बताए । विद्यालयले आगामी सोमबार बिहान ८ बजे अभिभावक भेलाको आयोजना गरेको छ ।














