विकासले फेरियो धिमवासीको जीवनशैली

Image
maya metro

बाजुरा – बाजुराको हिमाली गाउँपालिकामा सडक बनेपछि यहाँका स्थानीयको जीवनशैलीमा फेरिएको छ । सदरमुकामदेखि हिमाली गाउँपालिका–६ को धिमबस्ती झन्डै ७० किलोटिरको दुरीमा पर्छ । यहाँका स्थानीय केही समय पहिला भेडाबाख्रा र खच्चडको भरमा गाउँमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे तर अहिले सडक बनेपछि सबै जीवनशैली फेरिएको छ ।

भेडा, घोडा हिँड्ने बाटो सडकमा परिणत भएका छन् । भेडा र घोडाले ढुवानी गर्ने दैनिक उपभोग्य सामग्री लिएर अहिले गाडी नै घरमा पुग्ने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा हिमाली गाउँपालिकाको धिमबस्तीमा पालिकाको झन्डै तीन करोड ५० लाख रुपियाँ लगानीमा तयार भएको सडक गाउँसम्म पुगेको छ ।

nisarga

सडक सुविधा नहुँदा यहाँ एक किलो चामल ७५ रुपियाँमा खरिद गर्दै आएका स्थानीयले अहिले गाउँमै ५५ रुपियाँमा खरिद गर्न पाउन थालेका छन् । गाउँसम्म सडक पुगेपछि दैनिक उपभोग्य सामग्री सस्तो पाउने थालेका हिमाली गाउँपालिका–६, धिमका निबन्ध जनरल स्टोरका सञ्चालक जनक रोकायाले बताए ।

उनले भने, “यहाँका स्थानीयको सबैभन्दा ठुलो समस्या दैनिक खाद्यान्न सामग्री ढुवानी गर्नु हो । त्यसका लागि आफूले एक दुई हप्ता समय लगाएर मार्तडीदेखि गाउँमा खच्चडको भरमा समान पुगाउने गरेको थिए ।”

“अहिले पसलसम्म त्यो सामग्री बढीमा चार घण्टामै ल्याइदिन्छन्, त्यसले दैनिक उपभोग्य सामग्री सस्तो भएको हो,” उनले भने, “२०६७ सालमा एक किलो चामलको ७५ रुपियाँमा बिक्री गर्थें । अहिले त्यही चालमको एक किलोको ५५ रुपियाँमा गाउँमै बिक्री गर्छु ।”

हिमाली गाउँपालिका–६, धिमका स्थानीयको मात्र जीवनशैलीमा परिवर्तन आएको छैन । यहाँकाृ दुर्गम पिछडिएको धिमबस्तीको मुहारसमेत फेरिएको छ । घरमा सिलेटले छाएका यहाँका घरछाना अहिले जस्तापाता छाएका छन् ।

भूकम्पले सिलेटका छानामा बढी जोखिम हुने गरेकोले अहिले यहाँका स्थानीयले ती हटाएर करकट पाताले छाउने गरेसँगै धिमबस्तीको मुहारसमेत फेरिएको हो ।