
धनगढी – सुदूरपश्चिम प्रदेशकै ठूलो आर्थिक तथा व्यापारिक उत्सवका रूपमा परिचित १९ औँ सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न अर्थमन्त्री रामेश्वर खनाल धनगढी आउने भएका छन् । महोत्सवको उद्घाटन गर्ने तय भएको छ । भोली हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
उद्घाटन अघि टफिक चौराहदेखि बाँजा गाजा झाकी सहित र्याली निकाल्ने कार्यक्रम तय गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको महोत्सव धनगढी १ पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना हुँदैछ । उद्घाटन समारोहमा अर्थमन्त्री खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । “स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सुदूरपश्चिमको आर्थिक चलायमानता बढाउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष ओझाले भने ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग व्यवसायका स्टलहरू, कृषि उत्पादन प्रदर्शनी, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, पर्यटनसम्बन्धी प्रदर्शनी लगायत रहने छन् । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद तथा बाल उद्यान पनि समावेश गरिने आयोजकले जनाएको छ ।
यस महोत्सवले स्थानीय रोजगारी सिर्जना, व्यापार व्यवसाय प्रवद्र्धन तथा आर्थिक गतिविधि बढाउने विश्वास आयोजकले लिएको छ । महोत्सव सञ्चालन अवधिभर हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सुरक्षा व्यवस्था, सरसफाइ, पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन तथा सुरक्षानिकायसँग सहकार्य गरिएको आयोजक समितिले जनाएको छ ।















