विदेशमा देखेको विकासको मोडल आफ्नो क्षेत्रमा प्रयोग गर्छु : उम्मेदवार विष्ट(भिडियो)

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका आनन्द विष्टले विदेशमा देखेको विकासको मोडेल आफ्नो क्षेत्रमा प्रयोग गर्ने बताएका छन् ।

आज नेता कार्यकर्तासंगको भेटमा विष्टले आफू विश्वका सबै मुलुक घुमेको र विकासका मोडल तथा विकासका अवरोधहरु देखेको हुँदा आफ्नो अनुभव यो क्षेत्रमा प्रयोग गर्न आतुर रहेको बताएका हुन् ।

nisarga

विष्टले यो ठाउँमा अधुरा रहेका योजनाहरु पुरा गर्न तथा विकासका नयाँ योजना ल्याउन आफूले आफ्नो ज्ञान, सिप प्रयोग गर्ने बताए ।

‘यो ठाँउको विकासका लागि हिजोका दिनमा सुरुवात गरेका विकासका कामहरु होस्, भोलिका दिनमा नयाँ योजनाहरुको कुराहरु होस्, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मैले लामो समयसम्म काम गरेको छु, उनले भने, मैले विश्वका सबै मुलुकहरु घुमेर आइसकेको हुनाले संसारभरी देखेको सिप, ज्ञानले यो ठाँउमा के गर्न सकिन्छ भनेर पवित्र भावना लिएर आएको छु ।’

आफ्नो ३६ वर्ष लामो राजनीतिक अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै यस क्षेत्रको विकासको लागि अबको समय खर्चने उनले बताए ।

कार्यक्रममा हार्दिकताका साथ प्रस्तुत भएका विष्टले आफू सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । आफू पवित्र भावनाका साथ यो क्षेत्रमा आएको भन्दै पार्टीका सबै व्यक्तिको सह अस्तित्वलाई स्वीकार गर्ने उनले बताए ।

आफू पार्टीको प्रतिनिधि भएकोले पार्टीसंग असन्तुष्ट रहेका र फरक मत राख्ने सबैलाई समेटर हिँड्ने विष्टले बताए । आफूलाई सहयोग गरेमा शिर निहुरिने र हाम्रो उम्मेदवार खै भनेर खोजी गर्ने अवस्था आउन नदिने विष्टले प्रतिवद्धता व्यक्त गरे ।

हिजो वारिसनमा मार्फत प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका विष्टले आफूलाई सहजरुपमा स्विकार गरेकोमा कांग्रेस कैलाली- ४ प्रति आभार व्यक्त गरे । आज गेटा विमानस्थल आइपुगेका विष्टले माटोलाई ढोगेर निर्वाचन क्षेत्रप्रति सम्मान जनाएका थिए ।

उनलाई विमानस्थलमा कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकाया, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फूलमालासहित स्वागत गर्दै नाराजुलुस र्यालीसहित गोदावरी धामसम्म पुगाएका थिए ।

विष्टले गोदावरी धाममा जारी बाह्रराशि दर्शन मकर मेलाको कुम्भ बाटिका र शिवालयमा पूजाअर्चना गर्दै गोदावरी श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रमका अध्यक्ष तुल्सी गीरी महाराजबाट आर्शीवाद लिएका थिए ।