कैलाली- ४ मा कांग्रेसले अन्तिम समयमा उम्मेदवार बनाएका विष्ट को हुन्?

Image
maya metro

अत्तरिया – फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका थियो । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । सोहि बमोजिम कैलाली क्षेत्र नम्बर- ४ मा पनि उम्मेदवारी दर्ता भइरहेको थियो ।

तर गत २०७९ सालको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसले भने दिउँसो साढे दुई बजे सम्म पनि यस क्षेत्रमा आफ्नो उम्मेदवार दिन सकेको थिएन । सम्भवत निर्वाचनकै कार्यतालिका वरीपरी पार्टीभित्र आएको फेरबदल पनि यसको कारण थियो ।

nisarga

दिउँसो साढे दुई बजेसम्म पनि आफ्नो उम्मेदवार नपाएका नेता, कार्यकर्ताहरु अत्तरियाको पतन्जली योग समितिको हलमा बसेर उम्मेदवारको प्रतिक्षा गरिरहेका थिए ।

जबकी त्यतिबेलासम्म यस क्षेत्रको मुख्य प्रतिष्पर्धी नेकपा एमालेले समेत तामझामसहित उम्मेदवारी दर्ता गरिसकेको थियो । एमालेका उपमहासचिव लेखराज भट्ट यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि एकल सिफारीस भएका थिए ।

त्यसअघि नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, नागरिक उन्मुक्तिलगायतका दलहरु तथा स्वतन्त्र उम्मदवारले उम्मेदवारी दर्ता गरिसकेका थिए ।

कांग्रेसबाट क्षेत्र नम्बर- ४ का लागि दिनेश जोशी, लोकराज पाण्डेय आगो, भुवन महरा, रक्षा बम लगायतले दावी गरेका थिए । साढे दुई बजेसम्म पनि कहिले आगो र कहिले जोशी उम्मेदवार बनेको कांग्रेसकै नेताहरुले सामाजिक सञ्जालहरुमा पोस्ट गरिरहेका थिए । तर साढे दुई बजेपछि सुनियो ‘आनन्द विष्ट सिफारिस भए ।’

अनुभवी र लामो समयदेखि पार्टीलाई सहयोग गर्दै आइरहेको अनी हरेक परिस्थितिमा पार्टीप्रति सकरात्मक हुने भएकोले आन्तरिकरुपमा अगाडिदेखि नै पार्टी पङ्त्तिमा विष्टको चर्चा पनि भइरहेको एक नेताले बताए ।

लोकप्रिय, सिनिएर नेता, अनुभवी र एमाले उप महासचिवसंग भिड्न सक्ने व्यक्ति छान्ने क्रममा गोरख बहादुर विष्ट (आनन्द)लाई उम्मेदवार बनाइएको कैलाली क्षेत्र नम्बर- ४ का सभापति बसन्त रोकाया (ललित)ले बताए ।

उसो त पार्टी पङ्क्तिले प्रदेश सभापति वीर बहादुर बलायरका लागि पनि स्पेस खुला गरेको थियो । तर बलायरले आफू चुनाव नलड्ने मनस्थिति बनाए ।

यता पतन्जली योग समितिको हलमा बिहानैदेखि पर्खिरहेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले दिउँसो तीन बजेपछि मात्रै आनन्द उम्मेदवार बनेको खबर पाए ।

यसरी ठिक ४ बजे कांग्रेसबाटै निर्वाचित गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, क्षेत्रीय सभापति रोकाया, नगर सभापति वीर बहादुर चोखालसहितका नेताहरु निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेका थिए ।

डोटीमा जन्मिएर २०४० कै दशकमा परिवारसंगै कैलाली झरेका विष्ट उच्च शिक्षा अध्ययनको शिलशिलामा भारतको देहरादुन पुगे देखि नै नेपाली कांग्रेसको राजनितिमा सक्रिय भएका हुन् ।

नेपाल फर्किएपछि राजधानीको शंकरदेव क्याम्पसबाट स्नातक र स्नात्तकोत्तर तहको अध्ययन सकेर विष्ट सन् १९९८ मा अमेरिका पुगे । अमेरिका गएपछि स्थापित हुन कडा मिहिनेत र संर्घष गर्नुपरेको विष्ट सम्झिन्छन् ।

अमेरिका पुगेपछि पनि कांग्रेसकै राजनितिबाट नेपालको लोकतन्त्र सुदृढ बनाउने अभियानमा उनी निरन्तर सक्रिय रहे । २०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलन हुदा उनी देहरादुनमा पढ्दै थिए ।

त्यहाँ उनी नेबिसंघको सचिव थिए । त्यहीबाट आन्दोलनमा सहभागी भएका उनी दुतावास घेर्न दिल्ली पुगे । शंकरदेव क्याम्पसमा अध्ययनरत रहदा पनि नेबिसंघको राजनीतिमा सक्रिय रहे ।

१९९८ अमेरिका देखि कर्मथलो बनाएका विष्टले आफ्नो ज्ञान, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धलाई देश, सुदूरपश्चिम र पार्टीको हितमा प्रयोग गर्दै आएका छन् ।

‘पार्टीलाई लामो समयदेखि एकोहोरो सहयोग गर्दै आइरहेका, कुनै अवसर नपाउँदा पनि गुनासो नगर्ने नेता हुन विष्ट’, नेपाली कांग्रेसका नेता हेम प्रकाश मल्लले भने ।

सन् १९९९ मा न्यूयोर्कस्थित लोकतन्त्र पक्षधर युवाहरूको पहलमा स्थापना भएको नेप्लिज डेमोक्रेटिक युथ काउन्सिलका उनी संस्थापक संयोजक बने ।

सन् २००५ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको भवन अगाडि निरंकुश राजतन्त्रको विरोध र लोकतन्त्रको समर्थनमा आयोजित विशाल प्रदर्शन विष्टको राजनीतिक जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

“२०६२–६३ को आन्दोलनका बेला अमेरिकामा भएको त्यो प्रदर्शन मेरो राजनीतिक जीवनकै निर्णायक मोड बन्यो,” विष्ट सम्झन्छन् । यही सक्रियतापछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशनमा उनी नेपाली जनसम्पर्क समिति, अमेरिकामा औपचारिक रूपमा जोडिए ।

विष्ट नेपाली जनसम्पर्क समिति, अमेरिकाको संस्थापक संयोजक हुँदै सन् २०१४ मा सभापतिमा निर्वाचित भए । उनको नेतृत्वमा हाल अमेरिकामा २६ वटा च्याप्टर विधिवत रूपमा क्रियाशील छन् ।

उनी सन् २०११ देखि पार्टीको महासमिति सदस्य हुन् । लोकतन्त्र र पार्टीप्रतिको योगदानको कदरस्वरूप १३ औँ महाधिवेशनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनयन गरेका थिए ।

भूगोल बाहिरबाट आमन्त्रित केन्द्रिय सदस्य बन्ने विष्ट पहिलो नेता हुन् । राजनीतिसँगै सामाजिक सेवामा पनि विष्ट अग्रपंक्तिमा देखिन्छन् । उनकै पहलमा डोटीमा दुईवटा एम्बुलेन्स सेवा सञ्चालनमा आएका छन् ।

विद्यालयहरूमा शैक्षिक सामग्री वितरणदेखि बाढी, पहिरो, भूकम्प, निर्वाचन र पार्टीका हरेक अभियानमा उनले अमेरिकाबाट सहयोग जुटाएका छन् । २०७२ सालको महाविनाशकारी भूकम्पका बेला पनि उनी देश फर्किएर राहत वितरणमा सक्रिय भएका थिए ।

कोरोना महामारीको समयमा पनि विष्टले निस्वार्थ रूपमा नेपाल र अमेरिका दुवै ठाउँमा सेवा गरे । सोही सेवाको कदरस्वरूप उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा प्रेसिडेन्सियल भोलिन्टियर्स अवार्ड प्रदान गरिएको थियो ।

तत्कालिन अमेरिकन राष्ट्रपति बाइडेनद्धारा प्रदान गरिएको अवार्डका साथ विष्ट

यो सम्मान, स्वयंसेवा मार्फत आफ्नो समुदायमा योगदान पु¥याएका व्यक्तिहरुलाई दिइने प्रतिष्ठित सम्मान हो । यो अवार्ड अमेरिकाका राष्ट्रपतिले सरकारसँग सम्बद्ध प्रतिनिधिमार्फत प्रदान गर्ने गर्दछन् ।

अवार्डमा राष्ट्रपति सम्मानको साथमा, सम्मानित व्यक्तित्वहरुलाई व्यक्तिगत प्रमाणपत्र, आधिकारिक पिन, सुनको तक्मा र संयुक्त राज्यका राष्ट्रपतिबाट बधाई पत्र प्रदान गरिएको हुन्छ ।

त्यस्तै सोहि प्रसंगमा तत्कालिन न्यूयोर्क शहरका मेयर एरिक आडमले स्वयं विष्टको निवासमा पुगेर उनलाई सम्मान गरेका थिए ।

सम्मानका लागि विष्टको निवास पुगेका न्यूयोर्कका तत्कालिन मेयर आडमसहितका प्रतिनिधि

नेपाली नागरिकता कहिल्यै त्यागेन

श्रीमती र छोराछोरी अमेरिकामै बस्दै आएको भए पनि बाहिर प्रचार भएजस्तो आफूसंग अमेरिकन ग्रीनकार्ड भने नरहेको विष्ट बताउँछन् । आफूले नेपाली नागरिकता कहिल्यै नत्यागेको र अमेरिकन ग्रिन कार्ड पनि आफूसंग नरहेको उनको भनाई छ ।

नेपाली पासपोर्टबाटै आफू अमेरिका लगायत विश्वका सबैजसो देशहरुमा जाने आउने गरेको पनि उनले बताए । अमेरिकामा साथीहरुसंग मिलेर व्यवसाय सञ्चालन गरिरहेका विष्ट हरेक वर्ष दुई देखि तीन पटक सुदूरपश्चिम आइरहन्छन् ।

उनले केहि महिना अघि अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई पनि नगद ५१ हजार रुपैयाँ सहयोग गरेर गएका थिए । विष्ट आफू डोटीका हरेक पालिका र वडाहरुमा पुगेको बताउँछन् ।

उसो त विष्ट हरेक निर्वाचनमा पनि डोटी पुगेकै हुन्छन् । ‘चुनाव बाहेक अरु समयमा पनि डोटीका हरेक पालिकामा पुगेको छु ।

विष्टले भने, मलाई कसैसंग केहि लिनु छैन, आफूसंग भएको हरेक सिप, क्षमता र राष्ट्रिय, अन्र्तराष्ट्रिय सम्बन्धहरुलाई यहाँको विकाससंग जोड्न पाइयोस् भनेर लागेको हुँ ।’

जहाँ पार्टीले खटायो, त्यहिँ संघर्ष गर्छु

२०६४ सालको निर्वाचनमा डोटी र कैलाली क्षेत्र नम्बर ४ बाट पनि उनी सिफारिस भएका थिए ।

त्यसपछि निरन्तर डोटीबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस हुँदै आएका विष्टको नाम नेपाली कांग्रेस डोटीले यसपटक पनि पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

यद्यपि उनलाई पार्टीले कैलाली ४ का लागि उम्मेदवार बनाएर पठायो । पार्टीले आफूलाई जहाँ खटायो, त्यहि संघर्ष गर्ने विष्टले बताए ।

‘यो निर्वाचन म व्यक्तिले लडिरहेको छैन विष्टले भने’, नेपाली कांग्रेस पार्टीले लडिरहेको हो र म पार्टीको प्रतिनिधि भएको हुँदा पार्टीले जहाँ खटायो, त्यहिँ संघर्ष गर्छु ।’

आफूलाई कैलाली क्षेत्र नम्बर- ४ को भूगोलसंगै यहाँका समस्या, आवश्यकताका बारेमा भएको भन्दै विष्टले भने, मेरो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धलाई ४ नम्बर क्षेत्रको समग्र विकासका लागि सदुपयोग गर्नेछु ।

आफ्ना नेता, कार्यकर्ताहरुसंग हार्दिकतासाथ प्रस्तुत हुने उनी आफू निस्र्वाथ भावले यो क्षेत्रमा आएको र अब यहि ठाउँका जनतासंग सधैं साथ रहने बताउँछन् ।

करिब २८ वर्षदेखि कांग्रेसको राजनितिमा सक्रिय उनलाई पार्टीले उम्मेदवार बनाएर पठाएपछि हिजोआज घरदैलो, भेटघाट र निर्वाचन लक्षित कार्यक्रमहरुमा व्यस्त छन् ।