
अत्तरिया – कैलालीमा सुरु भएको ज्येष्ठ नागरिकलाई सार्वजनिक बसमा एक सिट निःशुल्क अभियान बिस्तार भएको छ। अभियानका संयोजक अमर बहादुर बिस्टका अनुसार सो अभियानमा थप ४ वटा बस जोडिएका छन् ।
संयोजक बिस्टका अनुसार धनगढी–भजनी–जोशिपुर, धनगढी–टिकापुर तथा धनगढी–राजापुर (बर्दिया) रुटमा सञ्चालन हुने बसहरूले ज्येष्ठ नागरिकलाई निःशुल्क एक सिटको सुविधा प्रदान गर्नेछन्। यसअघि विभिन्न रुटमा १२ वटा बस ले उक्त सेवा दिइरहेका थिए।

बुधबारदेखि सो अभियानमा से १ ख १६६१, से १ ख २१५३, ना ५ ख ८५८९ र सु.प.प्र. ०१–००१ ख ३५८३ नम्बरका बसहरू थपिएका हुन्।
सार्वजनिक सवारीधनीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा अभियानप्रति सकारात्मक सोच राख्दै जोडिएका व्यवसायी नर बहादुर बी.क. ले आफ्ना २ वटा बसमार्फत सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
साथै धनगढी–जोशिपुर रुटमा सञ्चालन भएको बसका सञ्चालक हेमन्त जैशीले पनि अभियानमा जोडिन पाउँदा खुशी लागेको बताए।
सेवामा जोडिएकै दिन बस व्यवसार्यी जैशीले एक जना ज्येष्ठ नागरिकलाई धनगढीबाट जोशिपुरसम्म निःशुल्क यात्रा गराएका थिए ।
अभियान संयोजक बिस्टले सबै यातायात व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्व बोध गर्दै यस अभियानमा जोडिन आग्रह गगरेका छन् । ज्येष्ठ नागरिकप्रति सम्मान र सहयोगको भावना बोकेको यो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने बिस्टको विश्वास छ।
















