कृष्णपुरमा नागरिकसंग मेयर घरदैलो कार्यक्रम : ३६ हजार ९०५ जना लाभान्वित

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर घरदैलो कार्यक्रम तथा नसर्ने रोगको पहिचान अभियानको समापन गरिएको छ । नगर प्रमुख हेमराज ओझाको अगुवाईमा २०८१ फागुनदेखि नगरपालिकाको स्वास्थ्य शाखाले उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप,पिसाब र सिकलसेल जाँच गरी स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव दिने गरेका छन् ।

nisarga

चालु आर्थिक वर्षमा वैशाख २८ गतेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३६ हजार ९०५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बन्सीराज भट्टले बताएका छन् ।

उनका अनुसार १३ हजार ८९४ घरधुरीका २० हजार ८७३ जना महिला र १६ हजार ३२ जना पुरुष गरी जम्मा ३६ हजार ९०५ जना लाभान्वित भएका हुन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर– १ भेटभाट शिविरका श्रीचन्द खातीले कृष्णपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आएर आफ्नो सुगर तथा रक्तचाप जाँच गरेको बताए ।

घरघरमै आएर स्वास्थ्यकर्मीहरुले जाँच गर्दा स्वास्थ्य संस्थासम्म समेत पुग्न नसक्ने व्यक्तिहरुलाई सहज भएको बताए । त्यस्तै वडा नम्बर– १ कै बासिन्दा चन्द्रा रानाले यो कार्यक्रमले वृद्ध तथा अशत्तहरुलाई अझै सहज भएको बताइन् ।


उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताइन् । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले नागरिकसंग मेयर कार्यक्रमले न्यून आय स्तर भएका नागरिकहरुलाई सहज भएको बताए ।

स्वास्थ्यकर्मीको टोली घरमै पुगेपछि नसर्ने रोगहरु पालेर बसेका व्यक्तिहरु स्वास्थ्य संस्थासम्म पुगेको बताए । स्वास्थ्य संस्थामा चेक जाँच र औषधीहरु निःशुल्क पाइन्छ भन्ने जानकारी नहुँदा स्वास्थ्य संस्थासम्म नआउने बिरामीहरु पनि स्वास्थ्य संस्थासम्म पुगेर जाँच गर्ने गरेको उनले बताए ।

स्वास्थ्यमा लगानी गरेमात्रै समृद्ध नगरको परिकल्पना गर्न सकिने ओझाको भनाई छ । नसर्ने रोगको औषधी खाँदा संधै बानी पर्छ भन्दै औषधी छोडेर स्वास्थ्य समस्या बल्झाइरहेका व्यत्तिहरुले पनि स्वास्थ्यकर्मीको सम्झाई बुझाईपछि पुनःह औषधी सुचारु गरेको ओझाले बताए ।

“प्रेसर, सुगर लगायतका नसर्ने रोगहरुको समस्या भएका कतिपय व्यक्तिहरु हरुले औषधी सुरु गरे त आजीवन खानुपर्छ, बानी पर्छ भनेर समस्या झन् बल्झाइरहेको पाइयो, उहाँहरुलाई सम्झाइबुझाइ गरेर रोग अनुसारको औषधी सुरु गरिएको छ । ओझाले भने ।”

उनले प्रतिकुल मौसमको समेत वेवास्ता गरि नागरिकको घरदैलोमा गएर स्वास्थ्य सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।

यो कार्यक्रम प्रभावकारी देखिएको आफूलाई महसुस भएको भन्दै उनले आगामी वर्षमा समेत निरन्तरता दिइने बताए । कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद भट्टले उक्त कार्यक्रम नागरिकमुखी कार्यक्रम भएको हुँदा निरन्तरता दिनुपर्ने जरुरी देखिएको बताए ।

त्यस्तै समापन कायक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर-१ का वडा अध्यक्ष मोहन बस्नेतले नागरिक संग मेयर कायक्रमले नसर्ने रोगको पहिचान मात्रै नगरेर खोप लगाउन छुटेका बालबालिका, चेतना अभावले आइरन चक्की नखाने गर्भवतीहरुलाई समेत समेटेको बताए ।

उनले यो कार्यक्रम ग्रामिण भेगहरुमा बढी प्रभावकारी भएको बताए ।