
अत्तरिया – सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा रहेको सैनिक महाविद्यालय तेघरीले वर्चस्व जमाएको छ।
डडेल्धुरामा शनीबार सम्पन्न भएको सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदकसहित कैलालीले प्रथम स्थान हासिल गरेको थियो ।

जस्मा सैनिक आवासीय महाविद्यालय तेघरीका छात्र सुरेश चौधरीले प्रतियोगितामा सबैभन्दा बढी ३ स्वर्ण र १ रजत गरि जम्मा ४ पदक जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी तीन जिल्ला स्वर्णविहिन बन्दा चौधरीले भने ३ स्वर्ण र १ रजत गरि ४ पदक जितेका हुन् ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको उक्त प्रतियोगितामा सबैभन्दा बढी पदक जित्ने खेलाडी बनेका चौधरीले राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि स्थान सुरक्षित गरेका छन् ।
पढाईसंगै अतिरिक्त क्रियाकलापमा अब्बल मानिने सैनिक महाविद्यालय तेघरीबाट जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले १० पदक जित्न सफल भएका थिए । सो प्रतियोगितामा पनि चौधरीले स्वर्ण पदक हात पारेका थिए ।















