
कैलाली – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले पदभार ग्रहण गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार सरुवा भई आएका डीआईजी भट्टराईले आज प्रदेश प्रहरी कार्यालयमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगर तथा कैलाली–कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले प्रदेशको शान्ति सुरक्षा अवस्था, प्रहरी जनशक्ति व्यवस्थापन तथा समग्र सुरक्षा चुनौतीबारे जानकारी लिएका छन । साथै उनले अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकमैत्री र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकार संरक्षण, लागूऔषध तथा तस्करी नियन्त्रण र गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।















