
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ का प्रतिनिधि सभाका उम्मेदवारसँग अत्तरिया जेसीजले ककस (प्रतिनिधि सभाका उम्मेदवार र नागरिकबिच प्रत्यक्ष संवाद कार्यक्रम) आयोजना गरेको छ ।
फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूसंग नागरिकको संवाद कार्यक्रमको आयोजना गरिएको अत्तरिया जेसीज वर्ष २०२६ का अध्यक्ष बम बहादुर बोगटीले बताए ।

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन, उम्मेदवार र मतदाता बिचको दुरी हटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । प्रत्यक्ष संवाद कार्यक्रममा उम्मेदवारहरूलाई आफ्ना एजेण्डा तथा प्रतिबद्धताहरू राख्नका लागि ५ मिनेटको समय छुट्याइएको थियो ।
उम्मेदवारहरूले बोलिसकेपछि दर्शक दीर्घाबाट लिखित रूपमा प्रति उम्मेदवार तीनवटा प्रश्नहरू उम्मेदवारलाई सोधिएको थियो । त्यसका लागि पनि उम्मेदवारलाई ५ मिनेटको समय दिइएको थियो भने अन्तिममा ५ मिनेट फ्लोर ओपन गरिएको थियो ।
कैलाली ४ को विकास, विपन्न बालबालिकाको शिक्षाका लागि व्यवस्था, असहाय बालबालिका र महिलाका लागि पहल, यस क्षेत्रको कृषि, पर्यटकीय सम्भावना र प्रवर्धन, रोजगारमूलक कार्यक्रम लगायतको बारेमा संवाद कार्यक्रममा उम्मेदवारहरुलाई प्रश्न गरिएको थियो ।
अत्तरियाको नमस्ते पार्टी प्यालेसमा आयोजना गरिएको संवाद कार्यक्रममा उम्मेदवारी दिएका १६ जना उम्मेदवारमध्ये १० जनाको सहभागिता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य, शिक्षा,सामाजिक, सुरक्षासहित अत्तरिया र धनगढी जेसीजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।















