
नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । उनी २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट विजयी भएका थिए ।

कांग्रेसले बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय कार्यसमिति, गाउँ–नगर कार्यसमिति र भ्रातृ संगठनलाई बोलाइएको सचिव भट्टले बताए ।
उनले बैठकबाट पूर्वगृहमन्त्री लेखक पक्राउको विरोधमा केही कार्यक्रमहरू तय गरिने पनि बताए । ‘सरकारले प्रतिशोध साध्ने काम गरेको छ,’ सचिव भट्टले भने, ‘त्यसबारे छलफल गरेर विरोधका कार्यक्रमहरू घोषणा गर्छौं ।’














