शाहले गरे सक्रिय राजनीतिबाट टाढा रहने निर्णय

Image
maya metro

धनगढी – नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले सक्रिय राजनीतिबाट टाढा रहने निर्णय गरेका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाउँदै अब उपरान्त कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय लिएको बुधबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

शाहले आफ्नो निर्णय अत्यन्तै गम्भीर र भावुक अवस्थामा लिनुपरेको उल्लेख गर्दै आफ्नो परिवार झण्डै आठ दशकदेखि नेपाली काँग्रेससँग जोडिएको स्मरण गरेका छन्। उनका हजुरबुबा स्वर्गीय लोकेन्द्र बहादुर शाह र बुबा स्वर्गीय मोहन बहादुर शाह दुवैजना पार्टीका जिल्ला सभापति भइसकेका थिए भने स्वयं शाह पनि दुई कार्यकाल जिल्ला सभापति भई हाल प्रदेश महामन्त्रीको जिम्मेवारीमा रहेका छन्।

nisarga

उनले देशको जटिल राजनीतिक परिस्थितिमा पार्टी एकजुट हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो अवस्थाले पार्टी विभाजनतर्फ जान सक्ने संकेतसमेत गरेका छन्। यदि पार्टी विभाजन भए त्यसले लोकतन्त्र, राष्ट्रियता र समाजवादमा आस्था राख्ने कार्यकर्ताको भावनामा गम्भीर चोट पुग्ने उनको भनाइ छ।
शाहले पार्टीको स्थापित विरासत जोगाउन सबै पक्षलाई आग्रह गर्दै आफ्नो लामो राजनीतिक यात्रामा साथ सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। साथै उनले आफ्नो निर्णयलाई निर्वाचन परिणामसँग नजोड्न समेत अनुरोध गरेका छन्।

अन्त्यमा उनले अब आफू “विशुद्ध नेपाली काँग्रेस” भएर मात्रै बाँच्न चाहेको स्पष्ट पार्दै सबैको जीवन सुखमय होस् भन्ने कामना गरेका छन्।