
कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिएको छ ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा शुक्रबार कञ्चनपुरमा जिल्ला समन्वय समिति, स्थानीय तह र विज्ञहरूसँग छलफल गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाको अध्यक्षतामा भएको छलफलमा मस्यौदामाथि समूहगत रूपमा छलफल भएको थियो । छलफलमा कञ्चनपुरका नौवटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

मस्यौदा निर्माणका विज्ञसदस्य डा. हेमराज लामिछानेले प्रदेशको हालको अवस्था, दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणापत्र प्रस्तुत गरेका थिए ।
“सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेको छ उक्त गरिबी घटाउने गरी पञ्चवर्षीय योजना तयार गरिएको छ”, विज्ञसदस्य लामिछानेले भने, “यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ ।”
उनले उक्त मस्यौदामा स्थानीय तहबाट आएका सुझावहरूलाई समेटेर योजनालाई अन्तिम रुप दिइने बताए ।
छलफलका सहभागीले सुदूरपश्चिम प्रदेश सरकारले नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसअघि प्रदेशको नीतिअनुसार बजेट कार्यान्वय नहुँदा प्रदेशको विकासले गति लिन नसकेको कारण यसपटक नीति कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूको जोड थियो ।
रासस















