
अत्तरिया – कैलालीको अत्तरियामा आधारभूत पुस्तकालय व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम सुरु भएको छ।
प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया र केसर पुस्तकालयको आयोजनामा गोदावरी नगरपालिकाको सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय संयोजनमा तालिम सञ्चालन गरिएको हो।

तालिममा पुस्तकालय सञ्चालन विधि, पुस्तक व्यवस्थापन, पाठकमुखी पुस्तक छनोटलगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ। यसले स्थानीय पुस्तकालयलाई व्यवस्थित, प्रभावकारी र पाठकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सोही अवसरमा ‘प्रतिभा मुखपत्र’ को छैटौँ अंक पनि विमोचन गरिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा प्रकाशन विमोचन गरिएको हो।

प्रतिभा पुस्तकालय अत्तरियाका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा तालिमको उद्धघाटन तथा ‘प्रतिभा मुखपत्र’ को छैटौँ अंक पनि विमोचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र ऐर, नगर प्रवक्ता गोपालदत्त भट्ट, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव धर्मसिंह कुँवरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्रराज शर्माले राखेका थिए। तालिममा १९ जना सहभागी रहेका छन् ।
















