कैलालीको बुढीतोलामा वैशाख १७ गतेदेखि पर्यटन महोत्सव लाग्दै,पर्यटन लगानीकर्ता भित्र्याउने उदेश्य

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा वैशाख १७ गतेदेखि पर्यटन महोत्सव लाग्ने भएको छ।

वैशाख १७ गतेदेखि २३ गतेसम्म पर्यटन महोत्सव (पर्यटन मेला) लाग्ने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समिति तथा बजार व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

nisarga

महोत्सवमा पर्यटकिय गतिविधि गरिने बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिका संयोजक हरि भट्टराईले जानकारी दिए । विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट लाग्ने महोत्सवमा करिब ६० वटा स्टल रहने उनले बताएका छन्।

आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उनले बताए । “हामीले आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छौं,” भट्टराईले भने । पर्यटकहरुको ईच्छालाई मध्यनजर गर्दै बुढीतोला होमस्टे सञ्चालनको तयारी पनि भइरहेको उनले बताएका छन् ।

महोत्सवमा बुढीतोलाको मौलिकता झल्काउने विभिन्न सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन, तथा घरेलु उत्पादनका स्टलहरू रहनेछन्। साथै, स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति पनि आकर्षणको केन्द्र बन्ने बताइएको छ ।

बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिका सल्लाहकार समितिका सदस्य अशोक मल्लले यस मेलाले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा टेवा पु¥याउने विश्वास रहेको बताए। महोत्सवको मुख्य उदेश्य पर्यटन लगानीकर्ता भित्र्याउनु रहेको मल्लले बताए ।

उनले पुतली बगैचा, स्ट्याचुहरु, भित्तेलेखनहरु आाफूहरुले तयार गरेको र उज्यालो बुढीतोला अभियानमा आफूहरु रहेको उनले बताए । छिमेकी देश भारतको उत्तर प्रदेशबाट पनि पर्यटक भित्रउन सकिने भएकोले सरकारले यस्मा ध्यान दिनुपर्ने उनको भनाई छ।

महोत्सव अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, खानाका परिकार, तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीयवासी तथा पर्यटकलाई लक्षित गर्दै आयोजना गरिएको यस “पर्यटन मेला”ले बुढीतोलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले महोत्सव सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन सबैलाई आग्रह गरे । २० किलोमिटरकै दुरीमा अध्याधिक गर्मी र चिसो महसुस गर्नसकिने भएकोले बुढीतोला प्राकृतिक हिसाबले उत्कृष्ट ठाँउ रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरिया चौराहबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको बुढीतोला प्राकृतिक दुष्टिकोणले सुन्दर मानिन्छ ।

सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने बुढीतोलामा कैलाली, कञ्चनपुरलगायतका ठाउँहरुबाट मानिसहरु गर्मी छल्न जाने गर्दछन् ।