
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेकी ५० वर्षीया लक्ष्मी विनाडीले एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेकी छन् ।
शैक्षिक सत्र २०८२ मा उनले गोदावरी-८ स्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट २.९२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन् । घरायसी काम, पारिवारिक जिम्मेवारी र दैनिक व्यस्तताका बीच पनि उनले पढाइलाई नछोडी मेहनत गरिन् ।

पढ्ने ईच्छा हुँदाहुँदै पनि २०४९ सालमा कक्षा ८ बाटै विविध कारणले बिचमै पढाई छोड्नु परेको उनले बताइन् । अहिले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनेक्रममा पनि पढाईको महत्व महसुस हुँदै गएपछि आफू तीन वर्षअघि कक्षा ८ मा समैजीमा भर्ना भएको उनले बताइन् ।

विनाडीले शिक्षा कुनै निश्चित उमेरका लागि मात्र नभएको बताएकी छिन् । “सिकाइको कुनै उमेर हुँदैन, चाहना र मेहनत भए जुनसुकै समयमा पनि पढ्न सकिन्छ,” उनले भनिन् ।
अहिले विभिन्न पारिवारिक जिम्मेवारीकाबिच पनि सफलता हात पार्दा आफूलाई खुसी लागेको उनले बताइन् । आफ्नो सफलतामा शिक्षक र विद्यालयसहित आफ्नो परिवारको महत्वपूर्ण योगदान रहेको उनले बताइन् ।
गोदावरी-८ को सिर्जनशिल महिला विकास तथा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष भइसकेकी विनाडीले तत्कालिन ग्वासी मनकामना महिला सामुदायिक वनको अध्यक्षको रुपमा पनि काम गरिसकेकी छिन् ।

हाल उनी सिर्जनसिलको सल्लाहकार संयोजक विनाडीको छन् । सफलताबाट उनीसँगै अध्ययन गर्ने विद्यार्थीहरू पनि उनको मेहनत र आत्मविश्वासबाट प्रेरित भएका छन् । विनाडीले समैजी मावि बाटै कक्षा ११ को पढाई सुरु गर्ने योजनामा आफू रहेको बताएकी छिन् ।














