
बाजुरा – जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।
छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ । बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाका अनुसार नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएकोे हो ।

महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरुलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन् ।
उनका अनुसार महिनाबारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।
रासस














