
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ९२०८३/०८४० को बजेटमाथि प्रदेश सभामा बिहीबार सामान्य छलफल भएको छ । बजेटमाथि सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध भएपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वआर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बजेटमा थुप्रै कमजोरी र त्रुटि रहेको औंल्याए । आफू सत्ता पक्षको सांसद भएका कारण बजेटको समर्थन गरे पनि यसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको उनले बताए ।

त्यस्तै, सत्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटले प्रदेशको अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न नसक्ने र यो नीति तथा कार्यक्रमसँग मेल नखाएको दाबी गरे । मल्लले मन्त्रालयमा बन्नुपर्ने बजेट अन्यत्रै बनाइएको आरोप लगाउँदै यसमा व्यापक संशोधनको माग गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पनि बजेटको विरोध गरेका छन् । सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेटमा केही त्रुटि भएको स्वीकार गरे । उनले त्रुटि भएका र दोहोरिएका शीर्षकका बजेट कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाउँदै संशोधनसहित बजेट पारित गर्न आग्रह गरे । उनले बजेट निर्माणमा कुनै ुखरिद बिक्रीु नभएको दाबी गर्दै यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए ।
बजेटमाथि सत्तापक्षकै सांसदहरूको विरोध र अन्यौलका कारण सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । यसले मन्त्रालयगत छलफल र बजेट पारित गर्ने प्रक्रियालाई अनिश्चित बनाएको छ ।















