
धनगढी – अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा हिजो भएको ११ घण्टाको वार्ता विनानिष्कर्ष टुंगिएको छ।
सरकार र डा. केसी पक्षबीच आइतबार सेती प्रादेशिक अस्पतालभित्र दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म वार्ता भएको थियो।

शिक्षा मन्त्रालयको अग्रसरतामा गठित सरकारी वार्ता टोली र डा. केसी पक्षबीच निजी मेडिकल कलेजले एमबीबीएस पढाउने सिट संख्या तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका दुई पदाधिकारी हटाउने विषयमा मध्यरातसम्म पनि सहमति जुट्न सकेन।
‘दुई विषयमा छलफल जारी छ। अन्य धेरै विषयमा सहमति जुटिसकेको छ,’ वार्ता टोलीका एक सदस्यले भने, ‘आज फेरि यी दुई विषय टुंग्याउने गरी बिहान १० बजे वार्ता बस्ने तय भएको छ।’
सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम वार्तामा सहभागी छन्। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा सहभागी रहेका छन्।
सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। त्यसपछि टोलीले डा. केसीसँग पनि छलफल गरेको थियो।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३०० शय्याको अस्पताल तत्काल सञ्चालनका लागि ओएनएम स्वीकृत गर्नुपर्ने तथा एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने माग अघि सारेका छन्।
गेटामा ३०० शय्याको अस्पताल बनाउने, तत्काल एमबीबीएस अध्ययनको व्यवस्था मिलाउने, छात्रवृत्ति ऐनअनुसार कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्न पनि सरकार तयार भएको छ। तर उपकुलपति, रजिष्ट्रारलाई पदमुक्त गर्ने तथा निजी मेडिकल कलेजको सिट संख्याको विषयमा आज फेरि थप छलफल हुने जनाइएको छ।
‘अहिले एउटा मेडिकल कलेजले १३० जनालाई एमबीबीएस अध्ययन गराइरहेको छ। सरकारले त्यो संख्या बढाउन खोजिरहेको छ। तर, ‘डा. साबले कतिपय कलेजको मापदण्डअनुसार त्यो घटाउनुपर्ने पनि हुन सक्छ भन्दै हुनुहुन्छ,’ वार्ता टोलीका सदस्यले भने, ‘निजी मेडिकल कलेजमा सिट संख्या निश्चित गर्ने विषयमा आज फेरि छलफल हुन्छ।’
रजिष्ट्रार हटाउने विषयमा सरकार सकारात्मक देखिए पनि ठोस सहमति भने भइसकेको छैन। उपकुलपतिको विषयमा पनि थप छलफल जारी छ। ‘सम्भवतः आज वार्ता टुंगिन्छ होला,’ उनले भने।
पदाधिकारी नियुक्त गर्न पहल गरेका दुई सांसद केपी खनाल र आनन्द चन्दसँग पनि सरकारी पक्षले पटक–पटक फोन संवाद गरेको थियो।
डा. केसी शुक्रबारदेखि धनगढीमा अनशन बसेका हुन्। अनशनका क्रममा स्वास्थ्य अवस्था कमजोर बनेपछि चिकित्सकको सल्लाहमा उनलाई शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै आएको छ।















