गोदावरीमा पोषण लेखाजोखा अभियान सञ्चालन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा पोषण लेखाजोखा अभियान सञ्चालनमा आएको छ । ६–५९ महिनाका बालबालिका तथा सुनौला १ हजार दिनका आमाहरूको पोषण अवस्था पहिचान गर्न पोषण लेखाजोखा अभियान सञ्चालनमा आएको हो।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन हुने अभियानको तयारीस्वरूप असोज ९ गते स्वास्थ्यकर्मी तथा सरोकारवालासँग अभिमुखीकरण र योजना तर्जुमा गरिएको थियो। त्यसपछि आजदेखि नगरपालिकाका विभिन्न वडा तथा समुदायमा अभियान सञ्चालनमा ल्याइएको हो।

nisarga

अभियानअन्तर्गत बालबालिकाको तौल, उचाइ तथा लम्बाइ, मध्य–बाहु परिधि (MUAC) लगायतका सूचक मापन गरी पोषण अवस्था मूल्याङ्कन गरिनेछ। उमेरअनुसार तौल, उचाइ/लम्बाइअनुसार तौल तथा उमेरअनुसार उचाइ/लम्बाइ र Z-score का आधारमा कुपोषण तथा वृद्धि अवरोधको अवस्था पहिचान गरिने नगरपालिकाले जनाएको छ।

त्यस्तै, सुनौला १ हजार दिनका आमाहरूको तौल, उचाइ तथा आवश्यकताअनुसार BMI लगायतका सूचकमार्फत पोषण अवस्थाको लेखाजोखा गरिनेछ। जोखिममा रहेका बालबालिका तथा आमालाई आवश्यक पोषण परामर्श र स्वास्थ्य सेवासँग जोडिनेछ।

नगरपालिकाले अभियानमा आफ्ना बालबालिका तथा आमाहरूलाई सहभागी गराउन अभिभावक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायका सबै सरोकारवालालाई आग्रह गरेको छ।

समयमै पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श तथा सेवा उपलब्ध गराउँदा बालबालिकाको स्वस्थ वृद्धि–विकास र आमाहरूको स्वास्थ्य सुधारमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।