
अत्तरिया – देउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रतिष्ठान स्थापनाको चार वर्ष पूरा भएको अवसरमा पदाधिकारीहरूले आफ्नो खाजा खर्च कटाएर विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान देउडा खेल्ने र संस्कृति संरक्षण गर्ने कार्यमा मात्रै सीमित नभई सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुन सक्छ भन्ने सन्देश दिन सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष रविन्द्र खड्काले बताए ।
“देउडा खेल्ने र संस्कृति संरक्षण गर्ने कामसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” अध्यक्ष खड्काले भने।
खाद्यान्न हस्तान्तरणपछि प्रतिष्ठानका पदाधिकारीहरुले विद्यालयमा देउडा खेलेका थिए ।















