
कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो ।

नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार दोधारा-चाँदनीको झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ ।
दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने सो पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो ।
पुलको बीचको एक भाग भत्किएपछि दोधाराचाँदनी र भीमदत्तनगरबीच आउ–जाउ गर्ने सो बाटो बन्द भएको छ ।
अब आउजाउ गर्दा करिब दुई किलोमटर माथिको पक्की पुलबाट यात्रा गर्नुपर्ने भएको छ ।














