अत्तरियामा मष्टाधाम निशुल्क कपडा वितरण केन्द्र, थन्किएका कपडा आवश्यकतामा रहेका हातसम्म

Image
maya metro

अत्तरिया – घरमा प्रयोगमा नआएका कपडा कसैका लागि अनावश्यक हुन सक्छन्, तर त्यही कपडा आवश्यकतामा रहेका अर्का व्यक्तिका लागि उपयोगी बन्न सक्छन्। यही सोचलाई व्यवहारमा उतार्दै कैलालीको अत्तरियामा मष्टाधाम व्यवस्थापन समितिले निःशुल्क कपडा वितरण केन्द्र सञ्चालनमा ल्याएको छ।

आर्थिक अभावका कारण आवश्यक कपडा किन्न नसक्ने विपन्न तथा असहाय नागरिकलाई सहयोग पु¥याउने र प्रयोग गर्न मिल्ने कपडाको पुनःसदुपयोग गर्ने उद्देश्यले समितिले गत असोज ८ गते गोदावरी-२ लोटस गल्लीमा ‘मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्र’ स्थापना गरेको हो।

nisarga

स्थापना भएको एक महिनाको अवधिमै केन्द्रले ६० जनाभन्दा बढीलाई निःशुल्क कपडा वितरण गरिसकेको छ। मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदका अनुसार केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर नागरिकलाई आवश्यक कपडा उपलब्ध गराउनु र प्रयोगयोग्य कपडालाई खेर जानबाट जोगाउनु हो।

घरमा प्रयोग नगरी राखिएका तर अझै प्रयोग गर्न मिल्ने कपडा संकलन गरी आवश्यकतामा रहेका व्यक्तिसम्म पु¥याउने अवधारणाका साथ केन्द्र सञ्चालन गरिएको उनले बताए।

समाजमा कतिपयसँग आवश्यकताभन्दा बढी कपडा हुने तर कतिपयलाई सामान्य कपडा जुटाउनसमेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष साउँदले यस्ता व्यक्तिलाई सहयोग पु¥याउन हुनेले दिने, नहुनेले लैजाने भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको बताए।

यसका लागि स्थानीय बासिन्दा, सामाजिक संघसंस्था तथा अन्य सहयोगीले आफूलाई आवश्यक नभएका सफा र प्रयोग गर्न मिल्ने कपडा केन्द्रमा उपलब्ध गराउन सक्ने साउँदले बताए । प्राप्त कपडालाई व्यवस्थित रूपमा संकलन र वर्गीकरण गरी आवश्यकताअनुसार वितरण गर्ने गरिएको उनको भनाई छ ।

मष्टाधाम व्यवस्थापन समितिले सुरु गरेको निःशुल्क कपडा वितरण केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन समुदायको सहभागिता महत्त्वपूर्ण हुने साउँदले बताए ।

अध्यक्ष साउँदका अनुसार केन्द्रको उद्देश्य विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्नु र प्रयोगयोग्य कपडाको सदुपयोग गर्नु हो।

मष्टाधाम निःशुल्क कपडा वितरण केन्द्रले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्दै बढीभन्दा बढी विपन्न परिवारसम्म पुग्ने नियमित रूपमा कपडा संकलन तथा वितरण गर्ने र सामाजिक सेवामा समुदायको सहभागिता बढाउने लक्ष्य लिएको छ।