
अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सव २०८३ को तयारी तीव्र पारिएको छ।
महोत्सवको तयारीस्वरूप सोमबार (आज)विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, समाजसेवी तथा सामाजिक अगुवासँग छलफल, सुझाव संकलन र अन्तरक्रिया कार्यक्रम गरिएको छ।

छलफलमा सहभागीहरूले महोत्सवलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, युवालाई सचेत बनाउने तथा समुदायमा लुकेर रहेका स्वास्थ्य समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने गरी सञ्चालन गर्न सुझाव दिएका छन्।
उनीहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनीहरुले महोत्सवलाई स्वास्थ्य परीक्षण र उपचारमा मात्र सीमित नराखी मानसिक स्वास्थ्य, किशोरकिशोरीका समस्या, अपाङ्गता भएका व्यक्तिको पहुँच तथा समुदायस्तरको स्वास्थ्य सचेतनालाई समेत समेट्नुपर्ने सुझाव दिएका छन्।
सहभागीहरूले सबै क्षेत्रको सहकार्य र सहभागिताबाट महोत्सवलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका छन्। मालाखेती अस्पतालका अेहब विष्णु जोशीले पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याका घटना बढिरहेको हुँदा महोत्सवले मानसिक स्वास्थ्य, मनोपरामर्श तथा आत्महत्या न्यूनीकरणका उपायलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा अपाङ्ग एकता सञ्जाल गोदावरीका अध्यक्ष अनिल मल्लले यस महोत्सवले स्वास्थ्य समस्या लुकाएर बसेका व्यक्तिलाई सेवा लिन सहज हुने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत महोत्सव उपयोगी हुने बताए।
त्यसैगरी, कृष्णपुर बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीले किशोरकिशोरीलाई महोत्सवसँग जोड्नुपर्नेमा जोड दिए। उनले कार्यक्रमले किशोरकिशोरीलाई स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न र आफ्ना समस्या पहिचान गर्न सहज बनाउने बताए।
अधिवक्ता शेरबहादुर बिष्टले महोत्सवमा मानसिक स्वास्थ्यलाई समेत प्राथमिकताका साथ समेट्न सुझाव दिए। मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई मनोरञ्जनात्मक तथा सहभागितामूलक गतिविधिमार्फत प्रस्तुत गर्न सकिने उनको भनाइ थियो।
पीएफए स्पोट्र्स क्लबका सल्लाहकारसन्तोष भट्टले महोत्सव सञ्चालन गर्दा आर्थिक तथा व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्ने बताए।
सीमित स्रोतसाधनका बीच ठूलो लगानीमा कार्यक्रम सञ्चालन गर्दा बजेट व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको सुझाव थियो।
युवा नेता धर्मसिंह कुँवरले महोत्सव सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्याब्सनका केन्द्रीय उपाध्यक्ष एज्ञराज हमालले विद्यार्थी तथा अभिभावकलाई समेत महोत्सवमा सहभागी गराउनुपर्ने बताए।
युवा सुमन चौधरीले पछिल्लो समय किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको विषयलाई ध्यानमा राख्दै महोत्सवमा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने बताए।
किशोरकिशोरीका समस्या समयमै पहिचान गरी आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन सके लागूऔषध प्रयोग न्यूनिकरण र आत्महत्याका घटना न्यूनीकरणमा समेत योगदान पुग्ने उनको भनाइ थियो। युवा जय धामीले सहभागीहरूबाट प्राप्त सुझावलाई समेटेर महोत्सव सञ्चालन गर्नुपर्ने बताए।
उनले महोत्सवले युवापुस्तालाई सकारात्मक काममा संलग्न हुन र समाजका लागि योगदान दिन प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। युवा रमेश बोगटीले मनोरञ्जनात्मक स्वास्थ्यसम्बन्धी विषयलाई चेम्बर अफ कमर्सले अघि बढाउनु सकारात्मक भएको बताए।
समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा कार्तिक १३ देखि १८ गतेसम्म छ दिने महोत्सव आयोजना गरिँदै छ।































