
धनगढी – सुदूरपश्चिमका नदी किनारमा रहेका बस्तीहरू बाढी र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री खगराज भट्टले जोखिम न्यूनीकरणका लागि तथ्य र अनुसन्धानमा आधारित पत्रकारिता गर्न आग्रह गरेका छन् ।
उनले जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिन थालेका अस्वाभाविक परिवर्तनबारे खोजमूलक समाचार सामग्री तयार गर्न पत्रकारहरूलाई आग्रह गरेका हुन् ।

अग्रलेख मल्टिमिडियाले आयोजना गरेको जलवायु पैरवी, विपद् व्यवस्थापन तथा डिजिटल सञ्चार, एआई र डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विपद् आउनुअघि नै सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।
‘हाम्रा सहर र बस्तीहरू अहिले पनि नदी किनारमै छन् । चमेलिया, रङ्गुन, सेती, बुढीगङ्गा र कैलाश खोलाको आसपास ठूला बस्ती छन् । त्यहाँ ठूलो विपद् आयो भने के हुन्छ रु’ उनले भने, ‘जलवायु र विपद्बारे अनुसन्धान तथा तथ्याङ्कमा आधारित पत्रकारिता आजको आवश्यकता हो ।’
विपद्का घटनाबाट हुने मानवीय क्षति सशस्त्र द्वन्द्वका तुलनामा पनि बढी रहेको दाबी गर्दै उनले त्यसलाई रोक्न पत्रकारिताले खबरदारी गर्नुपर्ने बताए । उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको तुलनामा विपद्का घटनाबाट ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ ।
जलवायु परिवर्तनका असर कृषि उत्पादन र प्राकृतिक स्रोतमा समेत देखिन थालेको उनले बताए । स्याउ उत्पादन हुने क्षेत्रमा सुन्तला र आँप फल्न थालेको, पानीका मुहान सुक्दै गएको तथा तराईमा बसाइँसराइ बढ्नुमा जलवायु परिवर्तनको प्रभाव पनि रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले विपद् र जलवायु परिवर्तनका असर मात्रै नभई सुदूरपश्चिमका कृषि तथा आर्थिक समृद्धिका सम्भावनालाई पनि पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताए । कमजोर राष्ट्रहरूले जलवायु परिवर्तनको बढी असर भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज सुनिनुपर्ने धारणा राखे ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा सुदूरपश्चिमका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी छन् । प्रदेशमा रहेका विपद्का जोखिम, जलवायु परिवर्तनका प्रभाव तथा डिजिटल प्रविधिको प्रयोगबाट तथ्याङ्कमा आधारित समाचार तयार पार्ने सीप प्रदान गरिने अग्रलेखका निर्देशक योगेश रावलले बताए ।
प्रदेशमा ठूलो विपद्को जोखिम रहेकाले त्यसको प्रभावकारी रिपोर्टिङ गर्ने तरिका सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जलवायु परिवर्तनका विषयमा पत्रकारितामार्फत जनचेतना फैलाउनुपर्ने बताए ।
एआईको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोग रोक्न र सही सूचना सम्प्रेषण गर्न पत्रकारहरू जिम्मेवार हुनुपर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले तालिममा सिकेका सीपलाई समाचार उत्पादनमा प्रयोग गर्नुपर्ने बताए ।
उनले प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले तालिमको आवश्यकता औँल्याए भने अग्रलेखका कार्यकारी निर्देशक हरि जोशीले विपद्बाट हुने क्षति न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
तथ्य तथा तथ्याङ्कमा आधारित पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको उनको भनाइ थियो ।





























