कोरोना नियन्त्रणका लागि थप सजकता अपनाउने सिसिएमसिसीकाे निर्णय

Image
maya metro

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ।

कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा छलफल गर्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र सीमाबाट भित्रिने नेपालीहरूको पिसिआर र एन्टिजेन परीक्षणको दायरा बढाउने निर्णय भएको छ।

nisarga

गृहमन्त्री बालकृष्ण खाँडका अनुसार पिसिआर परीक्षणबाट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा पनि छलफल भए पनि निर्णय भने भएको छैन।

बैठकमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए।

विदेशबाट आएकाहरूको विमानस्थलमै कोरोना परीक्षण गरिने, कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने तथा खोप लगाएको मान्छे कार्ड बोकेर हिडने चेतना जगाउनेबारे बैठकमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। बैठकमा देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए। नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।