
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थीहरूले चलचित्र रोल नम्बर–१ सामूहिक रूपमा अवलोकन गरेका छन् ।
धनगढीमा रहेको एसटिएस सिनेमा हलमा पुगरे उनीहरुले चलचित्र रोल नम्बर–१ सामूहिक रूपमा अवलोकन गरेका हुन् ।

विद्यार्थीको सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी व्यवहारिक ज्ञान र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई रोल नम्बर–१ अवलोकन गराइएको महाविद्यालय प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानाले बताएका छन् ।
उक्त चलचित्रमा अभिभावक तथा विद्यालय तहमा पढ्ने बालबालिकाको मनोविज्ञान प्रस्तुत गरिनुका साथै नेपालको वर्तमान शैक्षिक प्रणालीको चित्रण गरिएको हुँदा शिक्षक, विद्यार्थी र अभिभावकले संगै चलचित्र अवलोकन गरेको उनको भनाई छ ।
सो कार्यले बालबालिकाहरुमा समूहगत सिकाइका साथै छलफल तथा तर्क गर्ने क्षमता विकास हुने अपेक्षा रहेको रानाले बताएका छन् ।
“बालबालिकाहरुका लागि परिवार पहिलो पाठशाला भएको हुँदा विद्यार्थीको पढाइमा अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक योगदान महत्वपूर्ण हुन्छ, उनले भने, यो चलचित्रमा सामाजिक र पारिवारिक दवावले बालबालिकाको मष्तिस्कमा पार्ने असर र त्यसबाट पढाईमा पर्ने असरबारे पनि चलचित्रमा उल्लेख गरिएको छ, त्यसैले पनि तीनै पक्षले संगै चलचित्र अवलोकन गरेका हौं ।”















