
अत्तरिया – ७५ प्रतिशत अनुदानमा कृषि उपकरण पावर टिलर पाउने आसमा रकम जम्मा गरेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ६ र ७ का किसानले अझैसम्म न उपकरण पाएका छन्, न रकम नै । सुरो नेपाल नामक संस्थामार्फत कसैलाई एक हप्ताभित्र त कसैलाई १ महिनाभित्र उपकरण दिन्छु भनेर गोदावरी नगरपालिका वडा नम्बर-६ की प्रियङ्का चौधरी र सोनम चौधरीले रकम संकलन गरेका थिए ।
सम्बन्धित समाचार : पावर लिटर दिने भन्दै ठगिएका किसान फेरि प्रहरीमा

६८ जनाले सोनमलाई र १०६ जनाले प्रियङ्कालाई ७० देखि १ लाख २५ हजारसम्म रकम बुझाएका छन् । अनुदानमा पावर टिलर पाउने आसमा किसानले २०८१ भदौमा प्रति पावर टिलर ७५ हजारदेखि १ लाख २५ हजारसम्म रकम सोनम र प्रियङ्कालाई बुझाएका थिए । पटक पटक उपकरण माग गर्दा पनि मिति सार्न थालेपछि मात्रै रकम जम्मा गरेका किसानले आफूहरु ठगिमा परेको सुइको पाएका थिए ।
सम्बन्धित समाचार : पावर टिलरमा ठगिएका ५० जनाले जाहेरी दर्ता गरे, ३६ लाख दाबी
त्यसयता पटकपटक उनीहरु कहिले प्रहरी कार्यालय त चौधरीद्धयको घरमै पुग्ने गरेका छन् । प्रियङ्का घरमा नबसेर किसानसंग भाग्दै आएको र दुवैले निरन्तर भाका सार्ने गरेको गोदावरी-६ का मान बहादुर रानाले बताए । आफूले पावर टिलर र धान काट्ने मेसिन पाइने आसमा दुईवर्षअघि १ लाख दुई हजार पाँच सय रुपैयाँ प्रियङ्कालाई दिएको उनले बताए ।
सम्बन्धित समाचार : पावर टिलरमा ठगिएका किसान बिलखबन्दमा
त्यसबाफतको नगद रसिद दिन भने अस्विकार गरिएको उनको भनाई छ । “४ विघामा खेती गर्दै आएको छु, आधुनिक उपकरण भए सहज होला भनेर रकम बुझाए, उनले भने, एक महिनामा आउँछ भनेको थियो तर दुई वर्ष बित्यो उल्टै पटकपटक प्रहरी चौकी धाउनु परेको छ ।” गोदावरी-६ कै शान्तिदेवी चौधरीले आफूले पावर टिलरको आसमा सहकारीबाट ऋण निकालेर ७० हजार रुपैयाँ प्रियङ्कालाई दिएको बताइन् ।
तर घरको सबै काम छोडेर, उल्टै पैसा खर्च गरेर प्रहरी कार्यालय धाउनु परिहेको उनको भनाई छ । सोही ठाउँकी सुशिला चौधरीको पिडा पनि उस्तै छ । आज पनि प्रियङ्का चौधरीलाई प्रहरीले ल्याउने र केहि निकास निस्कने आसमा बिहानैदेखि इलाका प्रहरी कार्यालय मालाखेतीमा बसिरहेकी उनी साँझ निरास हुँदै घर फर्किइन् ।
सम्बन्धित समाचार : जेठ १० गतेभित्र रकम फिर्ता गर्ने सहमति
छलफलका लागि ५ बजेसम्म पुग्छु भनेकी प्रियङ्का ६ बज्दासम्म पनि नआएपछि उनिसहित इलाका प्रहरी कार्यालय मालाखेतीमा जम्मा भएका सबै किसानहरु रित्तो हात फर्किएका छन् । कृषि उपकरण वितरणको नाममा सुरु नेपाल संस्थामार्फत गोदावरी नगरपालिका मात्र नभई कैलालीका अन्य पालिकाहरू, कञ्चनपुर, बाँके र बर्दियाका किसान पनि ठगिएका छन् ।














