पावर टिलरमा ठगिएका ५० जनाले जाहेरी दर्ता गरे, ३६ लाख दाबी

Image
maya metro

अत्तरिया – ७५ प्रतिशत अनुदानमा कृषि उपकरण पावर टिलर पाउने आसमा ठगिएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ६ का ५० जना किसानले जाहेरी दर्ता गरेका छन् ।

मंगलबार दिनभर अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीमा भेला भएका उनीहरुले ३६ लाख १७ हजार १२५ रुपियाँ दाबी गर्दै जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

स्थानीय मिरा चौधरी, द्रोपती चौधरी, धनीराम चौधरीलगायतका किसानहरूले विश्वासमा परेर नगद रकम बुझाएको तर रसिदसमेत नपाएको बताएका छन् ।

उनीहरूले रकम संकलन गर्ने व्यक्ति गोदावरी नगरपालिका–६ का वडा अध्यक्ष जग्गुराम चौधरीकी बुहारी प्रियङ्का चौधरी भएको रहेको बताएका छन् ।

कृषि उपकरण ७५ प्रतिशत अनुदानमा दिने भन्दै चौधरीसहितले वडा नम्बर ६ का मात्रै ११० किसानबाट प्रति व्यक्ति ३२ हजार ५०० देखि १ लाखसम्म लिएको देखिएको तर त्यसको प्रमाण भने किसानसंग नरहेको प्रहरीले जनाएको छ ।

२०७८ साल साउनमा रकम उठाएर भदौभित्र कृषि उपकरण उपलब्ध गराउने भनिए पनि अहिलेसम्म किसानले न त पावर टिलर पाएका छन्, न आफूले तिरेको रकम फिर्ता पाएका छन् ।

धनीराम चौधरीले भने, “वडाध्यक्षकी बुहारी भएकाले विश्वास ग¥यौं, तर अहिले फोन पनि उठाउँदिनन्, उल्टै बोल्न नदिएर झपार्ने गर्छिन् ।” उनका अनुसार आफूहरूले प्रमाण माग्दा ‘मै आफैँ प्रमाण हुँ’ भनेर रसिद दिन अस्वीकार गरिएको थियो ।

यो घटनामा संलग्न व्यक्तिहरूमध्ये सुरो नेपाल नामक संस्थाको अध्यक्ष सुशीला खड्का (ओझा) र प्रियङ्काकी आमा सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू दुवैलाई कञ्चनपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कृषि उपकरण वितरणको नाममा सुरु नेपाल संस्थामार्फत गोदावरी नगरपालिका मात्र नभई कैलालीका अन्य पालिकाहरू, कञ्चनपुर, बाँके र बर्दियाका किसान पनि ठगिएका छन् ।