
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहलस्थित केशर पुस्तकालय परिसरको भौतिक सम्पत्तिलाई सरकारले संरक्षण गर्ने बताएका छन्।
मन्त्री पौडेलले आइतबार सो स्थलमा भइरहेको पुनः निर्माणका कामको निरीक्षणपछि त्यहाँको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने स्पष्ट गरे। उनले उक्त जग्गा निजी क्षेत्रलाई दिने भन्ने कुनै हल्लाको पछि नलागेर उक्त क्षेत्रको जग्गालाई संरक्षणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए। मन्त्री पौडेलले विकास समिति बनाएर त्यहाँको ३४ रोपनी जग्गाको उपयोग गरिने जनाए।

विगतमा सो स्थलमा शिक्षा मन्त्रालयसमेत रहेकामा हाल मन्त्रालय सिंहदरबारमा सरेको छ भने उक्त परिसरमा स्वप्न बगैँचा रेष्टुरेन्ट सञ्चालित छ। केशर शमशेरले आफ्नो निजी पुस्तकालय सरकारलाई दान दिएपछि विसं २०२६ देखि सरकारले सञ्चालन गर्दै आएको छ।
रासस














