
काठमाडौं – पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागती र प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्कादेखी मध्यम हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी‚ गण्डकी‚ बागमती र प्रदेश १ मा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।














