
धनगढी – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत सोमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन्। पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो।
टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो। जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउन सक्यो। एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन। बलिङतर्फ शारदाका अर्जुन सिंह साउदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए। उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १/१ विकेट लिए।

यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए। गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए। बलिङतर्फ एभरेस्टका कृश ऐरले ४ ओभरमा ३ महत्त्वपूर्ण विकेट लिँदै ११ रन दिए। आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १/१ विकेट लिन सफल भए। खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए। सर्वाधिक छक्काको अवार्ड हेमन्तलेनै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाए।
आजै भएको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गरेको छ। सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रनको विशाल योगफल तयार पार्यो। २ सय ७ रनको विजयी लक्षसहित मैदान उत्रिएको सैनिकले १५.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो।
सैनिकका लागि सुरुवाती ब्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३.४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए। त्यसपछि सम्हालिन नसकेको सैनिकका ब्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार ब्यहोर्नुपर्याे। उसका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सके। बलिङतर्फ हिमालयनका दीपक बोहरा(जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिए। अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए।
यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रनको उत्कृष्ट पारी खेले। उनलाई इनिङको अन्तिम ओभरमा कमलेस विष्टले बोल्ड आउट गरेका थिए। हिमालयनका वसन्त सिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६/१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट रहे। बलिङतर्फ सैनिकका गौतम केसीले २, कमलेस विष्ट, सैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १/१ विकेट लिए। खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए। गेम चेन्जर अवार्ड दीपक बोहरा जुनियरले पाए।
प्रतियोगिता अन्तरगत भोलि मंगलबार पहिलो खेलमा बिहान ९ बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछन्, भने दोस्रो खेलमा दिउँसो १ बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन्।
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको विजेताले १ लाख ५० र उप–विजेताले ७५ हजार प्राप्त गर्नेछन्।















