
काठमाण्डाै – व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नस्ल सुधारका लागि पहिलो पटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गएकाे शुक्रवार नेपाल ल्याइएको हो ।
विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे अहिले खुमलटारमा रहेकाे पशु क्वरेण्टीनमा राखिएको छ । चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिनुभयो । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भइ देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहाँँको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा. भट्टले जानकारी दिनुभयो । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उहाँको विश्वास छ ।












