
कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा रहेको प्यारातालमा नेपाली युवाहरूले डुङ्गा सञ्चालन गरेका छन् ।
बुधवार तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फरफराउँदै स्थानीय पुनर्वास नगरपालिका-५ का युवा नेता राम रोकाया, पुनर्वास-८ का समाजसेवी युवा ज्ञान सिंह हमाल, समाजसेवी लक्ष्मण भुसाल र पुनर्वास-९, बिचफाँटाका बब्लु बस्नेतको व्यक्तिगत लगानीले सञ्चालनमा ल्याएका हुन् ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको युवा सङ्घ नेपाल पुनर्वासका अध्यक्ष राम रोकायाले जानकारी दिए ।
‘कुनै नाफा हेरेर डुङ्गा सञ्चालनमा ल्याएका हैनौ,’ उनले भने, ‘तालको संरक्षण र पर्यटक भित्र्याउने मुख्य उद्देश्यले सञ्चालनमा ल्याएका छौ । पर्यटकहरूलाई हाल डुङ्गा चढ्न कुनै मूल्य तोकिएको छैन् ।’
पुनर्वास नगरपालिका-९ बिचफाँटा स्थित उक्त प्राकृतिक ताल पटक-पटक भारतीय पक्षले ताल आफ्नो भन्दै विवाद गर्दै आएको छ । यस पटक वडा कार्यालयमार्फत स्वरोजगार कार्यक्रम अन्तर्गत तालमा रहेको जलकुम्भी र अन्य फोहोर सरसफाइ गर्दै नगरपालिकाले पनि थप विकास गर्न योजना समेत बनाएको छ ।














