किभ/मस्को — रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । युक्रेनी फौजले पूर्वी सहर क्रेमिनामाथिको नियन्त्रण गुमाएको सीएनएनले उल्लेख गरेको छ । लुहान्स्क क्षेत्रको सहर त्रेमिनामा रुसी फौज निकै धेरै सैन्य उपकरण लिएर प्रवेश गरेका छन् । सहरमा गएको २४ घण्टामा निकै भयानक आक्रमण भएको युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । रुसी फौजले पश्चिमी सहर लभिभमा कम्तीमा ५ वटा शक्तिशाली क्षेप्यास्त्र फ्रहार गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
लभिभका मेयर एन्ड्री साडोवीले आइतबार बिहान रुसी सेनाले गरेको आक्रमणमा एक दर्जन घाइते भएका पुष्टि गरे । यसअघि रुसले खर्किभ, किभ, खेर्सान र अन्य सहरमा आक्रमण गरेपछि हजारौं सर्वसाधारण परिवारसहित लभिभ पुगेका थिए । खर्किभ सहरका आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै, रुसी फौजले मरिपोल सहरमा युक्रेनी सेनाले पुर्याएका सबै अवरोध ध्वस्त पारिदिने जनाएको छ । ऊक्त सहरमा तैनाथ युक्रेनी सेनालाई रुसले आइतबार आत्मसमर्पणका लागि अन्तिम मौका दिएको थियो । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की तथा प्रधानमन्त्री डेनिस स्मिहलले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए ।
सीएनएनसँग आइतबार कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले ‘रुससँगको युद्ध अन्त्यका लागि देशको पूर्वी क्षेक्र त्याग्न नसकिने’ बताएका छन् । युक्रेनी सेना डोन्बास क्षेत्रमा रुसी फौजसँग लड्न तयार रहेको उनले बताए । रुसले भविष्यमा पनि किभ कब्जा गर्ने प्रयास गर्दैन भन्नेमा आफू विश्वस्त हुन नसकेको उनको भनाइ छ ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘पश्चिमा देशहरूले आत्मघाती गोल गरेको’ दाबी गरेका छन् । रुसमाथि लगाइएको प्रतिबन्धले पश्चिमा अर्थतन्त्र बिग्रँदै गएको’ उनको भनाइ छ । रुसी अर्थतन्त्रबारे बोल्दै पुटिनले भनेका छन्, ‘मुद्रास्फीति स्थिर छ । वस्तुको भाउ सामान्य छ ।’
फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध कैयौं प्रतिबन्धहरू लगाएका छन् । साभार