स्थानीय निर्वाचन : दलका प्रचार सामग्री उत्पादनमा व्यस्त प्रिन्ट व्यवशायी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा २७ वर्षदेखी विष्ट आर्ट तथा फ्लेक्स प्रिन्ट सञ्चालन गर्दै आएका धरम विष्टलाई यतिबेला भ्यायी नभ्यायी छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारकालागी राजनीतिक दलका झण्डा उत्पादनमा उनी बिहान ५ बजेदेखी नै खटीने गरेका छन् । विगतका वर्षका चुनावमा टि सर्ट,टोपी लगायतका प्रचार सामग्रीहरु पनी प्रसस्तै उत्पादन गर्ने गरेकोमा यसपटक निर्वाचन आयोगले चुनाव चिन्ह अंकित टोपी , क्याप, भेष्ट, टिसर्ट, लोगो , स्टिकर ,झोला लगायतका सामग्री बोक्न रोक लगाएपछी माग नभएको उनले सुनाए ।

nisarga

चुनावी प्रचारकैलागी भेष्ट,टि सर्टको अर्डर गरिसकेका उनले निर्वाचन आयोगको सुचना पश्चात अर्डर क्यासिल गरेको बताए । यसपटकको चुनावमा झण्डामात्रै बनाईरहेको छु उनले भने बिहान ५ बजेदेखी राती ८ बजेसम्म निरन्तर काम गरिरहेको छु । एक दिनमा विभीन्न पार्टीका ५ हजार भन्दा बढी झण्डा बनाउने गरेको विष्टले बताए । वर्षौदेखी चुनावको समयमा झण्डा बनाँउदै आएका उनी सबैभन्दा बढी एमालेका झण्डा बनाउने गरेको बताउँछन् ।

यसपटक बढी झण्डा बनाउनेमा कांग्रेस दोस्रो तथा राप्रपा तेस्रोमा रहेको उनको बुझाई छ । अहिले झण्डाबाटमात्रै दिनमा करिब डेढ लाख माथी कारोबार भैरहेको छ उनले भने “यसबाट आफुलाई बच्ने त निकै कम हुन्छ । ” विष्ट अहिले सानो साइजमा २५ रुपैँयादेखी झण्डा बिक्री गर्दै आएका छन् । अहिले झण्डा बनाउन प्रयोग हुने कपडा,रङ लगायतका सामग्रीको मुल्य बढेपनी झण्डाको भने खासै नबढाएको बताउँदै विष्ट भन्छन् “जती व्यस्तता छ त्यति कमाइ भने छैन ।” झण्डा बनाउने व्यस्तता अब केहि दिन मात्रै रहने भएकोले अहिले साइन बोर्ड बनाउने सबै काम रोकेको उनले बताए ।

अत्तरिया प्रिन्टर्सका सञ्चालक लोकराज पन्तको अनुभव पनी त्यस्तै छ । चुनावको मिती तोकिएदेखी नै ब्यानर,पर्चा लगाएतका सामग्री बनाउनमा बढी समय खर्चीने गरेका उनी केहिदिनदेखी चुनावी प्रचारका सामग्री उत्पादनमा व्यस्त हुने गरेका छन् । दिनमा करिब दुइ हजार झण्डा बनाईरहेका पन्तले मसी र कपडाको मुल्य निकै बढेको बताए ।चुनावको मिती घोषणा भएदेखी नै राजनीतिक दलहरुका कार्यक्रम लगायतका गतिविधी बढेको महसुस गरेका उनले अहिले अन्य भन्दा आफ्नो कार्यालयमा चुनाव केन्द्रीत कामहरु बढी हुने गरेको बताए ।

यसपटक नगद कारोबार

विगतका चुनावको बेला प्रचार सामग्रीको उधारो कारोबार गरेर हैरानी खेपेका विष्ट यस पटक नगदमा मात्रै झण्डा बिक्री गरिरहेको बताँउछन् । आफ्नै लगानीमा कपडा र ,रङ किनेर झण्डा तयार गरेर राख्छु उनले भने “विगतका चुनावको बेलाको मात्रै लाखौँ रकम उठाउन बाँकी छ ,यसपटक नगद दिनेलाई माग बमोजीम बिक्री गरिरहेको छु ।” उधारो दिँदा अर्डर गर्न एउटा आँउछ, लिन अर्को आँउछ,फोन गरेर दिनुस है पछी मिलाउँछौँ भने दास्रो पटक फर्किदैनन् ,झन हार्नेवाला त आउने कुरै भएन विष्टले भने “तिनीहरुकोपछी कतिबेला दौडिनु,त्यसैले यसपटक आफ्नो लगानीमा बनाएर तयार गरेर राख्ने,लिन आउनेलाई नगद बिक्री गर्ने गरेको छु ।”

टेलरले पनी पाए काम

सुरज टेलरका सञ्चालक दल बहादुर दमाई केहिदिनदेखी चुनावी प्रचारमा प्रयोग हुने झण्डा सिलाउनमा व्यस्त हुन थालेका छन् । सिलाएको प्रति पिस २ देखी ३ रुपैयासम्म लिने गरेको बताँउदै उनले तीनचार दिनदेखी दिनमा हजार रुपैयाँ सम्म झण्डा सिलाएर कमाउने गरेको बताए ।