आज अन्तर्राष्ट्रिय नर्स दिवस

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाँउदैछ ।
फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उति बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उन् लाई सम्मानका साथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।



रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढङ्गमा अझै सम्म सञ्चालनमा छ ।
त्यती बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सर सफाइका कुराहरूमा उत्ति ध्यान दिईदैन थियो भनेँ स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिगं पेसालाई ल्याएकी हुन् ।
फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको छन् ।
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ ।
