आर्थिक वर्ष २०७८/७९ मा १७ अर्बको तरकारी आयात

padma

काठमाडौं – आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्या‌ंकअनुसार आलु, प्याज र लसुन आयातमा मात्रै साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागकाअनुसार हरियो तरकारीका लागि मुलुकबाट बाहिरिएको रकम गत वर्ष भन्दा ५ अर्ब हाराहारीले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले ४५ करोड किलो यस्तो तरकारी आयातका लागि १२ अर्ब ३१ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा ५९ करोड ८७ लाख ५९ हजार किलो हरियो तरकारीका लागि १७ अर्ब ७ करोड ८० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।

Shikhar Dental

उक्त आयातबाट सरकारले एक अर्ब ७२ करोड २३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने प्रमुख तरकारी नै नेपालले आयात गरेको भन्सारको विवरणमा देखिन्छ ।

आव ०७८/७९ मा नेपालले आयात गरेका प्रमुख तीन तरकारी आलु, प्याज र लसुनमै १५ अर्ब बढी रकम मुलुकबाट बाहिरिएको छ । गत वर्ष नेपालले ८ अर्ब १८ करोड ८९ लाख ९ हजार मूल्य बराबरको ३२ करोड ७६ लाख ७२ हजार २३७ किलो आलु आयात गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको २८ करोड ४१ लाख २५ हजार किलो आलु आयात गरेको थियो ।

०७८/७९ मा नेपालले ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको प्याज नेपाल भित्रिएको छ । उक्त मूल्यको १६ करोड ८५ लाख ४० हजार किलो प्याज किनिएको थियो । अघिल्लो वर्ष यस्तो आयात २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको थियो ।

नेपालमा तेस्रो धेरै आयात भएको तरकारीमा पर्छ लसुन । ०७८/७९ मा नेपालले ९१ लाख ३० हजार किलो लसुन आयात गरेको छ । यसका लागि मुलुकको ढुकुटीबाट १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ बाहिरीएको भन्सार विभागले जनाएको छ । अघिल्लो आवमा एक करोड ६ लाख किलो लसुनका लागि नेपालले एक अर्ब ५ करोड ९६ लाख रुपैयाँ खर्च गरेको थियो । एक वर्षमा नेपालले ३ करोड ४७ लाख किलो बढीको हरियो साग र अन्य सिजनल तरकारी खरिद गरेको छ । उक्त आयातका लागि ६२ करोड २१ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै २ करोड ७९ लाखको फर्सी, ७ करोड २५ लाखको भेंडे खुर्सानी (क्याप्सिकम),२२ करोड ४४ लाखको च्याउ, ५ करोड ८१ लाख रुपैयाँको घिउसिमी र मटरकोसा, ६३ करोड १२ लाख रुपैयाँको गोलेभेंडा नेपालले आयात गरेको छ । यस्तै, नेपालले २४ लाख ४२ हजार मूल्यको काउली, १३ लाख २४ हजारको बन्दा, ६६ लाख रुपैयाँको गाँजर र १२ लाख रुपैयाँको काँक्रो र २० लाख रुपैयाँको मुला आयात गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.