शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटे बाघको संख्यामा उल्लेख्य बृद्धि

padma

महेन्द्रनगर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटे बाघको संख्यामा उल्लेख्य बृद्धि भएको छ । निकुञ्जमा यसबर्ष गरिएको बाघ तथा आहारा प्रजातिको अनुगमनका क्रममा यस्तो तथ्याकं देखिएको हो । सन् २०२१ मा १९ बाघ रहेको शुक्लाफाँटामा एक बर्षमै झण्डै दोब्बर ३६ बाघ रहेको निकुञ्जले जनाएको छ । ‘ठ्याक्कै भन्ने हो भने त १७ बर्षपछि दोब्बर भएको देखिन्छ तर बिचमा घटेको पनि तथ्याङ्क छ,एक बर्षमै १७ बाघ बढेका छन् ।’ निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने ।

प्रविधिले शुक्लाफाँटामा घटीमा ३१ र बढीमा ४९ बाघ रहेको भन्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले बताए । २०७८ माघ २६ देखि फागुन २४ सम्म स्वचालित क्यामरा ‘क्यामरा ट्रयापिङ्ग’ प्रविधिको प्रयोग गरेर अनुगमन गरि बाघको गणना गरिएको थियो । जसमा १६ पोथी र १२ भालेलाई क्यामेरामा ट्¥याप गरिएको थियो भने अक्कुपेन्सी प्रविधिको प्रयोग गरेर बाघको संख्या ३६ रहेको यकिन गरिएको अधिकृत ऐरले बताए ।
सन् २००५ मा गरिएको गणनामा १८ बाघ रहेको शुक्लाफँटामा १७ बर्षपछि ठिक दोब्बर ३६ बाघ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले बताए ।

‘ यसअधि २०२१ मा बाघको संख्या १९ रहेको थियो, अहिले आएर एक बर्षमै झण्डै दोब्बर संख्या पुगेको छ, त्यसमा पनि भालेको अनुपातमा पोथीको संख्या बढी छ ।’ निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले भने । उनले थपे, ‘भाले भन्दा पोथीको संख्या बढी हुनु राम्रो संकेत हो । यसले बाघ बढ्ने सम्भावना अझै बलियो देखिन्छ ।’ विगतमा पोथीको अनुपातमा भाले बढी थिए ।

Shikhar Dental

निकुञ्जमा बाघको संख्या घट्ने र बढने क्रम जारी रहे पनि पछिल्लो पाँच बर्षयता बाघको संख्या बढेको मात्रै पाईएको छ । सन् २००५ पछि सन् २००८ मा बाघको संख्या घटेर आठ पुगेको थियो । त्यसै बर्षदेखि बाघको गणनामा पहिलो पटक आधुनिक प्रविधिको प्रयोग भएको थियो । त्यतिबेलादेखि स्वचालित क्यामराबाट बाघ गणना गरिदैं आएको छ । त्यसअघि बाघको पग मार्ग (पन्जाको छाप) र दिशापिसाब संकलन गरि संख्या निर्धारण गरिन्थ्यो । स्वचालित क्यामरा आएपछि तथ्याकं विश्वसनिय भएको सहाय संरक्षण अधिकृत ऐरको भनाई छ ।

सन् २०१३ मा बाघको संख्यामा उल्लेख्य बृद्धि भयो । बाघको संख्या दोब्बर बढी अर्थात आठबाट १७ पुग्यो । त्यस्तै सन् २०१८ मा एक बाघ घटेर १६ मा झरेको तथ्याकंमा उल्लेख छ । बाघ गणनाको तथ्याकंमा वयस्क मात्रै समावेश गरिन्छन् । यसमा डमरु (बच्चा)को संख्या उल्लेख नगरिने निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले जानकारी गराए ।

निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । शुक्लाफाँटामा बाघको आहारा प्रजाती प्रयाप्तता र चोरीशिकारी नियन्त्रण भएकाले यो सम्भव भएको निकुञ्जको भनाई छ । पछिल्लो गणनामा देशभरी बाघको संख्या ३ सय ५५ रहेका छन् । मानविय क्रियाकलापका कारण बाघका आठ प्रजातीमध्ये तीन प्रजातीहरु बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन् । बाँकी रहेका पाँच प्रजातीहरु आमुर, सुमात्रा, साउथ चाइना, ईण्डो चाइनिज र रोयल बँगाल (पाटे बाघ)को अवस्थापनि दयनीय रहेको बन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ–संस्थाहरुको तथ्याकंहरुले देखाएको छ ।

लोप हुन बाँकी रहेका पाँच प्रजातीका बाघहरु नेपाल, भारत, बँगलादेश, चिन, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्याण्ड र भियतनममा मात्रै सिमित छन् । नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्तरगतपर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा मात्र पाइने गरेका छन् ।

पाटे बाघ संरक्षित बन्यजन्तु हो । यसको चोरी शिकार तथा ओखेटोपहारको व्यापार, ओसार पसार गरेमा १५ वर्ष कैद र ५ लाख देखि १० लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था छ । संरक्षित बन्यजन्तुको चोरी शिकारी तथा व्यापारमा सहयोग गर्ने मतियारलाई पनि प्रत्यक्ष दोषी सरह कारबाही गरिने कानुनी प्राबधान छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.