
दार्चुला – गस्तीमा रहेका दल्लेक प्रहरी चौकीका प्रहरीले महाकाली नगरपालिका–२ बाट ३ किलोग्राम चरेस बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाका अनुसार दल्लेक प्रहरी चौकीबाट खटिएको टोलीले बुधबार उक्त परिमाणको लागूऔषध चरेस बरामद गरेको हो ।

बुधबार बिहान दल्लेकबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको अपरिचित पुरुष व्यक्तिलाई शंका लागेर जाँच गर्न खोज्दा ती पुरुषले फालेर भागेको झोलाभित्र ३ किलोग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।
अपरिचित पुरुषले फालेको झोलाबाट करिब ३ किलोग्राम लागूऔषध चरेस, १ थान हाते तौल मेसिन र केही थान कपडाहरु फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी थापाले ती व्यक्तिको खोजी भइरहेको बताए ।














