दार्चुलामा संचालित आँखा शिविरमा तीन हजार चार शय बढिलाई सेवा प्रदान

Image
maya metro

दार्चुला – नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा भाद्र २५ गते देखि आश्विन ४ गते सम्म दार्चुला जिल्लाको गोकुलेश्वर, पस्ति र खलंगा गरि ३ स्थानमा संचालित शिविरहरुमा जम्मा ३४३५ जनाले आँखा उपचार सेवा लिएका छन् ।

जसमध्ये ४४८ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएकोमा ४४१ जना मोतिविन्दुका विमारीहरुको शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ । उक्त शिविरहरुमा ७ जनामा आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै १३०४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको र १६८३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

nisarga

आँखा शिविरहरु शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मा वि गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मा वि पस्ति र महाकाली नगरपालिकाको महेन्द्र नमुना मा वि खलंगा दार्चुलामा संचालन गरिएका थिए ।

कोभिड संक्रमणको कारणले लामो समय सम्म उक्त क्षेत्रमा आँखा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा संचालित उक्त शिविरहरुमा, १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

उक्त शिविरहरु संचालनमा शैल्यशिखर नगरपालिका गोकुलेश्वर, गोकुलेश्वर मा वि, मालिकार्जुन गाउँ पालिका, महाकाली नगरपालिका र महेन्द्र नमुना मा वि दार्चुलाका पदाधिकारी, कर्मचारी र बिद्यार्थीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।

यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।