सहजपुर – सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९, सेहरीको झोलुङ्गे पुल सम्पन्न हुनसकेको छैन । वडाको राजीफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिलर निर्माणबाहेक अरू काम हुनसकेको छैन ।
वडा कार्यालयमा सेवा लिन आउने वडावासीले वडा नं. ८ भएर आउनुपर्ने बाध्यता अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवैतर्फका पिलर बनाउने काम मात्रै भएका छन् । पूर्ववडाध्यक्ष लहानु चौधरीले बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न पुल निर्माण सुरु गरिएको बताए ।
उहाँले बल्मी र राजीफाँटावासीलाई वडा नं. ८ स्याउले बजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माणका लागि माग गरिएकामा सोअनुसार काम सुरु भए पनि ढिलाइ भएको बताए ।
सम्झौताअनुसारको समयावधि सकिएर कार्यालयले थप गरेको समयमा १६ महिना गइसके पनि निर्माण कम्पनीले लट्ठा ल्याएर फाल्नेबाहेक अरू काम गर्नसकेको छैन । ५८ प्रतिशतभन्दा बढी रकम पाइसकेको निर्माण कम्पनीले थप भएको समयको हालसम्म काम सुरु नगर्दा पनि सम्बन्धित निकाय भने मौन छ । उक्त कार्यालयका सबइन्जिनियर विनोद खड्काले निश्चित समयावधिमै निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले झोलुङ्गे पुलका लागि लट्ठा अभाव भएको जनाएको बताए ।
उक्त झोलुङ्गे पुलजस्तै उक्त निर्माण कम्पनीले कैलालीकै कान्द्रा, खोनपुर र ट्याना नदीमाथि झोलुङ्गे पुल निर्माण गर्न सोही कम्पनीसँग सम्झौता गरेको कार्यालयका सबइन्जिनियर खड्काले बताए । ती सबै झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न भएको छैन ।
झोलुङ्गे पुलका लागि बनाइएको पिलर नजिकसम्म खुटिया खोलाले कटानी गरिसकेको छ । कटान गरिएको ठाउँमा तटबन्ध नगरिए पुल बन्नुभन्दाअघि नै खोलाले लैजान सक्ने सम्भावना उत्तिकै छ । पुलभन्दा अगाडि खोलाको क्षेत्रमा बलियो तटबन्ध गरे मात्रै पुललाई जोगाउन
सकिने अवस्था रहेको छ । हिउँदको समयमा खोलामा खासै पानी नभए पनि वर्षायाममा आउने बाढीले पुललाई जोखिममा पार्न सक्ने स्थानीयवासीको गुनासो छ ।
गोरखापत्रबाट