खानेपानीका तीन आयोजनालाई एक करोड ८५ लाख बजेट

Image
maya metro

अत्तरिया – खानेपानीको चरम समस्या भोगिरहेका गोदावरी नगरपालिकाका विभिन्न वडामा निर्माणाधीन तीन वटा खानेपानी आयोजनाको पूर्णताका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष एक करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यी आयोजना निर्माण पूरा भए दर्जनौँ परिवारमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ ।विकासका पूर्वाधार र भौगोलिक रुपमा विकट गोदावरी नगरपालिका–४, बन्देगडा खानेपानी योजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ लाख रुपैँया बजेट छुट्याएको छ । २०७५ सालबाट सुरु भएको यो योजनाबाट स्थानीय छ सय घरधुरी लाभान्वित हुने छन् ।

चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो खानेपानी आयोजनाको काम अपेक्षित रुपमा अगाडि बढेको छैन । बन्देगडामा खानेपानी र सिचाँइ सुविधाको अभाव छ । बन्देगडामा एउटा गैरसरकारी संस्थाले गाउँमा १५–२० परिवारलाई पुग्ने गरी खोलाबाट गाँउमा खानेपानी पु¥याइदिएको छ । पाइपको माध्यमबाट पु¥याइएको पानीले स्थानीयलाई केही राहत त भएको छ तर पानी पर्दा धमिलो पानी आउने भएकाले समस्या रहेको स्थानीय बताउँछन् ।

nisarga

वर्षायाममा धमीलो आउने हुँदा खानयोग्य समेत नहुने स्थानीयले बताएका छन् । प्रदेश सरकारअन्तर्गतको उक्त योजनाले पूर्णता पाएमा सफा र स्वच्छ पानी पिउन पाउने आशामा त्यहाँका स्थानीय छन् । चुरेसँग जोडिएको यो क्षेत्रमा खानेपानीको चरम समस्या रहेको छ । स्थानीयबासिन्दा खोलाको पानी पिउन बाध्य छन् ।प्रदेश सरकारकै लगानीमा गोदावरी–८, बिजोरामा निर्माणाधीन बिजोरा–बडेहा खानेपानी आयोजनाका लागि प्रदेश सरकारले यस वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । चार वर्षअघि सुरु भएको यो आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

बिजोरा–बडेहा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सहसचिव रोशन भट्टले आयोजनाको काम अन्तिम चरणमा पुगेको र अहिले घरघरमा धारा जडानको काम भइरहेको जानकारी दिए । करिब १२ करोड रुपैयाँको लागतमा निर्माणाधीन यो आयोजनाबाट गोदावरी नगरपालिका वडा नम्बर १, ५ र ६ का गरी करिब दुई हजार दुई सय सय घरधुरी लाभान्वित हुने सहसचिव भट्टले बताए ।

स्याउले खानेपानीको काम सुस्त

नल्कामा आउने पहँेलो पानी पिउदै आएका गोदावरी नगरपालिका–८, स्याउलेका स्थानीय छ वर्षअघि गाउँमा खानेपानी आयोजना निर्माणको प्रकृया अगाडि बढेपछि खुसी थिए । आयोजना बनेपछि स्वच्छ र शुद्ध पानी पिउने स्याउलेबासीको सपना भने अझै अधुरो छ । निर्माण समितिले तदारुकता नदेखाउँदा आयोजना कहिले सम्पन्न हुन्छ भन्ने अझै अन्यौल छ । आयोजनाको कामले पनि गति लिन सकेको छैन ।यो खानेपानी आयोजनका लागि प्रदेश सरकारले हरेक वर्ष पर्याप्त बजेट पनि छुट्याउँदै आएको छ । तर योजना सम्पन्न गर्ने जिम्मेवारी लिएको समितिले काममा ढिलासुस्ती गर्दा हरेक वर्ष योजनाको ठूलो बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको छ ।

यो आयोजनाका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि मात्रै एक करोड २० लाख रुँपैया बजेट छुट्याएको छ । तर उपभोक्ता समितिलाई नै बजेटबारे अहिलेसम्म जानकारी छैन । समितिका अध्यक्ष शेरबहादुर अधिकारीले यस वर्ष आएको बजेटबारे आफूलाई जानकारी नभएको बताएका छन् । आवश्यकताअनुसार प्रदेश सरकारबाट बजेट विनियोजन गराउन दौडधुपसमेत गर्नुपर्ने अध्यक्षलाई बजेट छुट्याइएको तीन महिनासम्म जानकारीसमेत नहुनुले खानेपानी आयोजना निर्माणमा भइरहेको लापरबाही देखाउँछ ।

जनश्रमदानसहित छ करोड ५० लाख ६९ हजार रुपैयाँ लागतमा रहने आयोजना आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३÷०७४ मा काम सुरु भएको थियो । २०७५ सालमा यो आयोजना प्रदेश सरकार मातहत आएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख हंसबहादुर थापाले स्याउले खानेपानी आयोजना यही वर्ष पूरा गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । योजनाको करिब ५५ प्रतिशत भौतिक प्रगति पूरा भएको उनले बताए । प्रमुख थापाले समितिको लापरवाहीका कारण खानेपानी डिभिजनले समेत अपजस खेप्नुपर्ने अवस्था आएको बताए ।

‘आवश्यक बजेट दिए पनि समिति सक्रिय नहुँदा काममा ढिलाइ भएको हो । समिति र उपभोक्ता सक्रिय भए यसै वर्ष काम पूरा गर्न सकिने संभावना पनि छ ।’ उनले भने, ‘यस वर्ष अहिलेसम्म पनि समितिले काममा बेवास्ता गरेको छ ।’ ठेक्काको आधारमा जनशत्तिको व्यवस्था गरिदिन्छौँ भन्दा समेत निर्माण समितिले चाँसो नदेखाएको खानेपानी डिभिजनको दावी छ । आफ्नो जिम्मेवारीमा परेको योजना नौ महिनादेखि अलपत्रजस्तै बन्दा दुख लागेको उनले बताए । ट्याङ्की निर्माण, घेरवार, कार्यालय भवन निर्माण, पम्प हाउस, बोरिङलगायतको काम सकिसकेको डिभिजन प्रमुख थापाले बताए ।

योजनाको काम विगत नौ महिनादेखि ठप्प छ भने छ महिनादेखि समितिको बैठकसमेत बस्न सकेको छैन । १९ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ । ‘अझै पनि समिति र स्थानीय सक्रिय भएमा आउँदो जेठमा धारामा पानी झार्न सकिन्छ ।’ उनले भने ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले १२ किलोमिटरसम्म बिछ्याउन पुग्ने पाइप गत आर्थिक वर्षमा नै किनेर सििमतलाई हस्तान्तरण गरेको थियो । उक्त पाइप खानेपानी आयोजनाको कार्यालयमा थन्किएको छ । अध्यक्ष अधिकारी भने पाइप बिछ्याउने क्षेत्रमा कहिले खेती लगाइएको, कहिले बीउ राखिएको, कहिले चुनाव त कहिले बर्खाले काम गर्न नसकिएको बताँउदै आएका छन् ।

गोदावरी–८, का अध्यक्ष गोविन्द चौधरीले योजनाका अध्यक्ष अधिकारीलाई आफूले काम अगाडि भनेको बताए । ‘काम अगाडि बढाउनु भनेर मैले पनि धेरै पटक भनिसकेको छु । काम सुरु नभए यस वर्ष पनि बजेट फ्रिज जाने संभावना छ ।’ उनले भने, ‘मैले समितिलाई काम गर्न पटक–पटक भनिसकेँ तर उहाँहरुले चाँसो देखाउनु भएको छैन ।’ खानेपानीको सुविधा नहुँदा स्याउलेका स्थानीय नल्काको पिउन योग्य समेत नभएको पानी पिउन बाध्य छन् ।