
काठमाडौं – डेरी उद्योगीले एकतर्फीरूपमा गरेको दूधको मूल्यवृद्धि फिर्ता भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक खरालको उपस्थितिमा मंगलबार भएको छलफलपछि उद्योगी मूल्यवृद्धि फिर्ता गर्न सहमत भएका हुन्।

डेरी उद्योग संघमा आबद्ध केहीउद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्यवृद्धि गरेका थिए। प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि चर्को विरोध भएको थियो।
त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको थियो। तर, उद्योगीले पुस १८ गते विज्ञप्ति जारी गरी मूल्यवृद्धि फिर्ता नलिने बताएका थिए। मंगलबार पुनः उनीहरूसँग छलफल गरिएको हो।
मूल्यवृद्धि फिर्ता भएसँगै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ। कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निर्णय लिने डेरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले जानकारी दिए।














